देवदह । नगरपालीकाले बिगतका दिनमा फोहोर संकलन गरेकै शैलिमा केही यूवाहरु सिठी फुक्दै देवदहको खैरेनी चोकमा आईपुग्छन् । त्यसपछि बोरामा फोहर लिएर ट्याक्टरसम्म पुग्नेहरुको भिडभाड लाग्न थाल्छ । ८-१० जना युवाहरुले खैरेनी चोकका घर तथा पसलेहरुलाई ट्याक्टरमा फोहर खन्याउन आव्हान गर्छन् ।
करिव २ महिना यता फोहर नउठेको देवदहमा एकाएक यस्तो आव्हान गरिएपछि स्थानीयलाई पनि ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो ।
सिठी फुक्दै फोहर उठाउने गाडी अगाडी आएपछि स्थानीय रुपा गुरुङ्ग फोहरले भरिएको बोरा लिएर ट्याक्टरसम्म पुगिन । उनलाई लागेको थियो उक्त गाडी नगरपालिकाको हो भन्ने ।
हस्याङ्गफस्याङ्ग गर्दै फोहर उठाउने गाडीसम्मै पुगेपछि मात्र उनलाई थाहा भयो उक्त गाडी नगरपालिकाको होइन भनेर । तैपनि थुप्रैदिनदेखि थुप्रिएको फोहर ट्याक्टरमा खन्याउन पाउँदा उनी खुसी देखिन्थिन् । उनले भनिन् 'फोहर थुप्रिएको छ, उठाउने कोही आउँदैनन्, सिठी फुक्दै ट्याक्टर आएको देखेपछि फोहोर ट्याक्टरमा लगेर फालिदिए ।'
विगत २ महिना यता फोहर नउठाईको बिरोधमा मंगवार देवदहका युवाहरुले नगरपालिकाको कार्यालय परिरमा लगेर फाल्ने योजना सहित फोहर संकलन गर्दा देखिएको दृष्य हो यो ।
देवदहको आवाज नाम दिइएको स्वतन्त्र युवा समूहको नेतृत्वमा देवदहको खैरेनीबजार क्षेत्रमा थुप्रिएको फोहर नगरपालिका गेटभित्र लगेर फाल्ने योजना भएपनि त्यो सफल भने भएन । युवाहरुले फोहर संकलन गरिरहेको थाहा पाएपछि नगरप्रहरी र प्रहरीले नगरको गेटमा अवरोध गरेपछि उक्त फोहर गेट बाहिरै फालिएको हो ।
“खैरेनी बजारमा हामीले आव्हान ग¥यौंं, नागरीकले स्वतस्फुर्त रुपमा आफ्नो घर तथा पसलमा थुप्रिएको फोहर ट्याक्टरमा ल्याएर खन्याईदिनुभयो ।” अभियानका सदस्य सुरज गुरुङ्गले भने “फोहरका कारण बजार दुर्गन्धित बन्यो, बजारमा हिड्दा नाक छोपेर हिड्नुपर्ने अवस्था बनिसक्यो । तर त्यो फोहर नाागरीकलाई गन्हाउने अनि जनप्रतिनिधिहरुलाई नगन्हाउने भयो ।”
अभियानका अर्का सदस्य प्रेम थापाले भने “स्थानीय निकायमा फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको हो । तर सरकार कानमा तेल हालेर बस्यो, त्यसैले फोहरको दुर्गन्धले उ ब्यूझिन्छ कि भनेर साङ्केतिक बिरोध स्वारुप फोहर फालिएको हो ।”
नगरपालिकाले भने युवाहरुको यो गतिविधि प्रति ध्यानआकर्षण भएको जनाएको छ । सेतोमसीसंग कुरागर्दै नगर प्रमुख धु्रव प्रसाद खरेलले फोहर व्यवस्थापनको लागि आफुहरुले पहल गरिरहेको हुँदा युवाहरुले हतार गरेर यस्तो गतिविधि गर्न नहुने बताए । “फोहर व्यवस्थापनको काम अत्यन्तै जटिल काम हो, यो समस्या देशकै सवैभन्दा ठुलो समस्या पनि हो ।” उनले भने “देवदह ५ स्थित वुद्ध सामुदायिक वन र त्यहाँका उपभोक्ताले अवरोध गरेपछि केहि समय देखि फोहर उठिरहेको छैन, यसप्रति हामी गम्भिर छौं ।” नगरले अहिलेपनि फोहर व्यवस्थापन दिगो हुनुपर्ने र योजना विना गरिएको यसअघिको व्यवस्थानले समस्या निम्त्याएको ठहर गरेको हुँदा अव यसलाई फेरी समस्या नआउने गरी सल्ट्याउन नगर प्रयासरत रहेको उनले बताए । प्रमुख खरेलका अनुसार हाल बुद्ध सामुदायिक वन संगको सहकार्यमा डम्पिङ्ग साईटमा फोहर व्यवस्थापन, पर्खाल निर्माण, तारवार र व्यवस्थित गर्ने काम भइरहेकाले अवको केहि दिनमै फोहर उठ्छ ।
नेपालको संविधानको धारा ३० ले समेत स्वच्छ वातावरणको हकलाई सुनिश्चित गरेको छ । जसको लागि फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा फोहरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७० समेत जारी भएको छ । ऐनको परिच्छेद २ को दफा ३ उपदफा १ मा फोहरमैला उत्पादन, सङ्कलन, न्यूनीकरण तथा निष्काशन सम्बन्धी व्यवस्थापनको जिम्मा स्थानिय तहको हुने उल्लेख गरेको छ ।
फोहरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७० को दफा १२ मा नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिका बमोजिम फोहरमैलाको सङ्कलन प्रशोधन र विसर्जन लगायत समग्र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुनेछ भनिएको छ । उक्त नीतिको दफा १३ मा स्रोत व्यवस्थापन बमोजिम फोहरमैला व्यवस्थापनको समग्र जिम्मेवारी स्थानीय तहको रहेको उल्लेख भएको हुँदा यो कार्यान्वयनको लागि देवदह नगरले समेत आवश्यक पहलकदमी लिएर देवदहका नागरिकले व्यवहोरेको सास्ती तत्काल निकारण गर्न आवश्यक देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology