बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनमधये दुईवटा बाइपास ब्रेक थ्रु भएको छ । कामलाई २४ सै घण्टा तीव्रता दिएसँगै १ र ३ नम्बर बाइपास सुरूङ्ग ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजनाले जनाएको छ ।
तिनवटा मध्ये पहिलो बाइपास एक सय ५१ मिटर र तेस्रो एक सय ३० मिटरको ब्रेक थ्रू भएको हो । दोस्रो १६१ मिटरको वाइपास सुरुङमा पनि काम जारी रहेको कार्यालयले जनाएको छ । हालसम्म मुख्य सुरुङमार्ग भने पाँच सय ४५ मिटर खनिएको छ ।
योजना कार्यालयका अनुसार कूल एक हजार एक सय २६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी पाँच सय ४५ दशमलव ५७ मिटर छेडिएको छ । गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । काममा कुनै अवरोध नभए अबको ३ महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रू’ गर्ने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् ।
सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा रहेका कारण सो सडकखण्डमा सुरुङमार्गको परिकल्पना गरिएको हो । सो क्षेत्रमा हिउँदमा समेत सुख्खा पहिरो खस्ने गर्दछ ।
बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन गतवर्षको ४ माघबाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ ।
आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७८ साल फागुनमा सीएससीईसीसँग सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology