देवदह । देवदह नगरपालिका वडा नं २ स्थित केरवानी स्वास्थ्य चौकीले डेंगी रोग सम्बन्धि सचेतना अभियान सुरु गरेको छ । मंगलबार वडास्तरीय अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरी चौकीले टोलटोलमा अभियान पुर्याउने जनाएको छ ।
स्वास्थ्य चौकीका प्रमुख काशीनाथ रेग्मीले अभियानलाई हरेक टोलहरुमा विस्तार गर्ने र विद्यालयमा समेत पुग्ने बताए । सेतोमसीसंग कुरा गर्दै उनले भने, "हामी डेंगी रोग फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने तथा यसबाट बच्ने भन्नेबारे सचेतना अभियानमा सबैलाई जोड्नेछौं ।"
कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष तथा केरवानी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति अध्यक्ष दल बहादुर राकसकोटी, प्रसाद गुरुङसहित विद्यालयका अध्यक्ष, प्राचार्य, टोल विकास समितिका अध्यक्ष, आमा समूह लगायतको उपस्थिति थियो ।
देवदह वडा नं २ मा ७ जना डेंगी रोगबाट संक्रमित छन् । उनीहरू स्वास्थ्यकर्मीको निगरानीमै रहेको र स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको स्वास्थ्य चौकीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology