देवदह । रूपन्देहीको देवदहमा फोहोर माग्ने र वर्गीकरण गर्ने अभियानको सुरुवात भएको छ । नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिएपछि वडा नं ५ ले शनिबार घरदैलो अभियान सहित घरघरमै पुगेर फोहोर वर्गीकरण गरेको हो ।
नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले वडावासीलाई नै सचेत बनाउन सकिए फोहोर वर्गीकरण गर्न सकिने र त्यसले फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने बताए । "हामी निर्वाचनमा भोट माग्न गएझैँ फोहोर माग्न घरघरमा पुग्छौ र उहाँहरूकै अगाडि फोहोर वर्गीकरण गरेर देखाउँछौं ।" वडा अध्यक्ष डुम्रेले भने, "त्यसो गर्दा अत्यधिक फोहोर विक्री हुने, मल बनाउन सकिने र कतिपय पुन: प्रयोग गर्न मिल्ने समेत देखियो । हरेक हप्ता तीन ट्रयाक्टर फोहोर संकलन हुने ५ वटा वडामा एक महिनासम्म जम्मा भएको फोहोर हेरेर वर्गीकरण गर्दा जम्मा एक ट्रयाक्टर मात्र फोहोर नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने देखियो ।"
जनप्रतिनिधि र कर्मचारी सहितको टिम फोहोर माग्दै घरघरमा पुग्दा स्थानीय उत्साहित भएको र आगामी दिनमा फोहोर वर्गीकरण गरेर बाँकी रहेको फोहोर मात्र नगरपालिकाको गाडीमा पठाउने प्रतिबद्धता जनाएको वडा अध्यक्ष डुम्रेको भनाइ छ ।
२१ वटा टोल रहेको देवदह-५ मा हरेकदिन घरदैलो गर्ने र फोहोर वर्गीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने वडा कार्यालयले जनाएको छ ।
फोहोर वर्गीकरण अभियानमा देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाका जनप्रतिनिधि, स्थानीय न्यु लुम्बिनी बोर्डिंङ स्कुलका शिक्षक-विद्यार्थी, टोल विकास संस्था, आमा समूह र फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरतहरूको सहभागीता रहेको जनाइएको छ ।
स्थानीय संघसंस्थालाई फोहोर व्यवस्थापनमा सहजीकरण गर्न नगरपालिकाले अनुरोध गर्दै पत्राचार गरेपनि ठोस उपलब्धि नभएपछि वडा कार्यालयमार्फत फोहोर वर्गीकरण अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि सेतोमसीले आयोजना गरेको देवदहको फोहोर व्यवस्थापन सम्बन्धि कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्थानीयको सहभागीतामा फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीय बुद्ध समुदायिक वनमा फोहोर विसर्जन गर्दै आएको देवदह नगरपालिकाले विगत एक महिनादेखि फोहोर संकल गरेको छैन । नगरपालिकाले घरघरबाट फोहोर संकलन गर्दै आएकोमा वनले फोहोर विसर्जनमा रोक लगाएपछि फोहोर व्यवस्थापनको कामलाई रोकेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology