काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताएका छन् । कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर छ ।
मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि उनले बताए । 'संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता छ ।' उनले भने, ‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन । संविधान अवश्य पनि छलफलको विषय बन्छ । तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं । कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर । यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ ।'
उनले अगाडि भने, 'प्रचण्डजीले मलाई के सुनाउनु भयो भने ओलीजी आज आउनुभएको थियो । तपाई र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो । स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो भन्नुभयो । तर उहाँले प्रचण्डजीलाई धोका दिनुभयो ।'
नेताहरुले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology