देवदह । देवदह नगरपालिकाले डम्पिङ साइटको उचित व्यवस्थापन नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । आइतबार डम्पिङ साइटको अनुगमनमा पुगेका स्थानीयले समयमै व्यवस्थापनमा ध्यान नदिए फोहोर विसर्जन गर्न नदिने र नगरपालिका घेराउ गर्ने चेतावनी दिए ।
देवदह नगरपालिकाको वडा नं ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वन क्षेत्रमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ ।
डम्पिङ साइटको अनुगमनपछि पत्रकारसंग कुरा गर्दै बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाले नगरपालिकाले फोहोर व्यवस्थापनलाई उपेक्षा गर्दै आएको बताए । उचित व्यवस्थापन नहुँदा डम्पिङ साइटको दुर्गन्धले स्थानीय आजित भएको बताउंदै उनले नगरपालिकालाई यहाँबाट डम्पिङ साइट हटाउन र अन्यत्र फोहोर व्यवस्थापन गर्न अनुरोध गरे । उनले समयमै व्यवस्थापनमा ध्यान नदिए फोहोर विसर्जन गर्न नदिने र नगरपालिका घेराउ गर्ने चेतावनी दिए ।
पत्रकारसंग बोल्दै वनका लेखा समिति संयोजक भरत तिवारीले जंगल क्षेत्रलाई प्लास्टिकले प्रदुषित गरिरहेकोले उचित व्यवस्थापन गर्न र स्थानीयसंगको समन्वयमा आवश्यक निर्णय लिन नगरपालिकालाई १५ दिनको अल्टिमेटम दिने निर्णय भएको बताए ।
आक्रोशित स्थानीयले पटक पटक नगरपालिकालाई अनुरोध गर्दा पनि सुनुवाई नभएपछि नगरपालिका घेराउ गर्ने निष्कर्षमा आफूहरू पुगेको बताएका छन् ।
स्थानीयको मागबारे सेतोमसीले राखेको जिज्ञासामा देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलले फोहोर व्यवस्थापन सबैको जिम्मेवारी र दायित्वको विषय भएको बताए । उनले नगरपालिकाले आवश्यक काम गरिरहेको र थप व्यवस्थापनको लागि बजेट समेत विनियोजन गरेको बताए ।
"अल्टिमेटम दिने, फोहोर विसर्जन गर्न रोक्ने वा नगरपालिका घेराउ गर्ने कार्यले समस्याको समाधान हुन्न" उनले भने, "स्थानीयसंग छलफल र बार्ताबाटै समस्याको हल खोज्न नगरपालिका तयार छ ।"
स्मरण रहोस्, यसघि पनि गत पुष १ गते तत्कालिन अवस्थामा डम्पिङ साइटमा आगलागी भएपछि केही समय स्थानीयले नगरपालिकाका फोहोर बोकेका गाडीलाई डम्पिङ साइटमा प्रवेश गर्न रोकेका थिए । उक्त आगलागी समयमै नियन्त्रण गर्न नगरपालिका उदासिन देखिएको, डम्पिङ साइटमा पुग्ने सडक व्यवस्थित नगरिएको लगायतका माग स्थानीयले राखेका थिए ।
पछि पुष २ गते नगरपालिका र बुद्ध सामुदायिक वनका पदाधिकारीको बीचमा बार्ता भएपछि फोहोर व्यवस्थापन नियमित भएको थियो । तत्कालिन अवस्थामा नगरपालिकाको तर्फबाट नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, प्राबिधिक प्रमुख इन्जिनियर राजकुमार यादव, बिपद शाखा प्रमुख रबि पाण्डे र स्थानीयको तर्फबाट बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना सहित सचीव राधिका अर्याल, स्थानीय हरि प्रसाड पौडेलसहितको टोलीले सामुहिक रुपमा स्थलगत अवलोकन गरि फोहोर ब्यवस्थापनलाई नियमित गर्न सहमत भएका थिए ।
जसमा डम्पिङ्ग साइडमा जाने सडक निर्माणको गर्ने, डम्पिङ साइड ब्यवस्थापनको लागि नगरपालिकाले बजेट विनियोजन गरे अनुसार डम्पिङ क्षेत्रमा कामदार राख्ने, ट्रष्ट निर्माण गर्ने, तत्काल नगरपालिकाले कामदार राखेर फोहोर वर्गीकरण गर्ने, डम्पिङ साइडमा कुहिने र नकुहिने स्थल छुटाउने काम तत्काल सुचारु गर्ने गर्ने सहमति भएको थियो ।
आफुहरूसंग भएका सहमति नगरपालिकाले कार्यान्वयन नगरेको स्थानीयको आरोप छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology