देवदह । देवदह नगरपालिकाले राष्ट्रिय आवास कम्पनी र राष्ट्रिय भुमि आयोगले वितरण गर्ने जग्गाधनी प्रमाणपुर्जाको राजश्व घटाउन अनुरोध गरेको छ । नगर प्रमुख ध्रुवप्रसाद खरेलको नेतृत्वमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटासहित काठमाडौं पुगेको टोलीले शनिबार प्रधानमन्त्रीसंगको भेटमा प्रधानमन्त्रीलाई बधाई ज्ञापनसंगै राजश्व घटाउन अनुरोध गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै नगर प्रमुख खरेलले प्रधानमन्त्रीलाई बधाईसंगै देवदहका नागरिकले भोगिरहेका समस्याबारे पनि जानकारी गराएको बताए । "चौथो पटक प्रधानमन्त्रीको रुपमा नेतृत्व सम्हाल्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई बधाईसहित देवदहको समस्याबारे जानकारी गराइएको छ ।" नगर प्रमुख खरेलले भने, "प्रधानमन्त्रीले यसबारे बुझ्ने र आवश्यक निर्णय लिने बताउनु भएको छ ।"
अधिकांश जग्गा अव्यवस्थित र सुकुम्बासी रहेको देवदह क्षेत्रमा जग्गा नापजाँच भएर लालपुर्जा तयार भएका जग्गा धनीले समेत राजश्व बढी भएको भन्दै पुर्जा लिएका छैनन् । भुमि आयोगले पुर्जा तयार गर्ने तर उक्त पुर्जा लिँदा लाग्ने राजश्व अत्यधिक भएपछि स्थानीयले राजश्व घटाउन पहल गर्न निरन्तर आवाज उठाइरहेका छन् ।
यता नगरपालिकाको वडा नं १, २, ११ र १२ मा रहेको राष्ट्रिय आवास कम्पनीको जग्गामा बसोबास गर्ने नगरवासीलाई लालपुर्जा दिलाउने विषयमा समेत राजश्व नै बाधक बनेको छ । राजश्व बढी भएको भन्दै उनीहरूले पुर्जा लिन मानिरहेका छैनन् ।
यसअघि देवदह नगरपालिकाको एक कार्यक्रममा बोल्दै आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले राजश्व घटाउन नसकिने भएपनि स्थानीय सरकारले पहल गरेमा अवस्था हेरी २५ देखि ७५ प्रतिशतसम्म राजश्व छुट दिन सकिने प्रावधान रहेको बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology