Logo

२०८३, श्रावण ३१गते


images
images

पर्यटन

सिद्धेश्वर महादेव : कर्मदा नदीका शिवजी

सिद्धेश्वर महादेव : कर्मदा नदीका शिवजी

images
  • सिद्धेश्वर महादेव : कर्मदा नदीका शिवजी
    images
    images

    तँनहु जिल्ला डुम्रे बजारबाट करिव २० किलोमिटर उत्तर पुर्वीे बाटो पार गरेपछि लमजुङ जिल्लाको द्वार सुन्दरबजार ८, पाँउदी बजार पुगिन्छ । पाउँदी बजारलाई बुढापाकाहरु तापाकाले नामले चिन्छन् । र, त्यही तापाकालेबाट अलिकति उत्तरतिर छिरेपछि वरपर जताततैबाट देखिन्छ मस्र्याङ्गदी नदिको किनारमा करिव १०८ फिट अग्लो अभय मुद्रामा अवस्थित सिद्धेश्वर महादेवको भीमकाय मूर्ति । सँगै हरियो पानीको सागर बगेको छ मस्र्याङ्गदी नदिको नाममा र नजिकै साइनबोर्डमा राता अक्षरले लेखिएको छ - कर्मदा नदीका शिवजी । 

    images
    images
    images

    २०२७/२८ साल भन्दा अगाडीको कुरा हो । मरुवाको पुच्छार अर्थात मस्र्याङ्गदी नदीको किनार लालुपाते फूलै फूलले भरिएको हुन्थ्यों । मान्छेहरु फूलपाते भनेर त्यो ठाँउलाई चिन्ने गर्थे । स्थानिय  मानिसहरु आफ्ना गाईबस्तु त्यै ठाँउतिर चराउन लैजान्थे । उनीहरुले सँधै नदीको किनारमा एउटा नाग आकारको ठुलो ढुङ्गो देख्थे । बस्तुभाउ हराउँदा वा केही समस्या पर्दा उनीहरुको ध्यान त्यहीँ ढुङ्गामा जान्थ्योँ । विस्तारै उनीहरुले त्यही ढँुङ्गालाई नागको प्रतिकको रुपमा लिन थालें । गंगाको(नदी)किनार त्यसै पनि पवित्र, उनीहरुको आस्था झन् बढ्दै गयो र कालान्तरमा पवित्र भूमिमा परिणत भयो । प्रकृतिको सान्निध्यमा अभिनव समाजको निर्माणका लागि ईश्वरीय संकेत सुन्ने ऋषि मुनिहरुले जसरी वेद रचना गरे र वैदिक समाजको निर्माण गरे, त्यसरी नै आधुनिक अभियन्ताहरुले उनीहरुको बाटो पछाउदै देखे सुनेका कथा र अनुभवलाई पथ प्रदर्शक मान्दै त्यसैलाई निरन्तरता दिन थाले । इतिहास छ, २०२८ सालतिर स्थानिय विष्णु प्रसाद गौली लगायतका व्यक्तिहरुले त्याहाँका ढुङ्गामा रहेका देवीदेवाताहरुका आकृतिमा पूजाको सुरुवात गरे ।

    images
    images
    images

    २०३२ सालमा तापाकाले नजिकै कमलवोटे बस्ने विष्णु प्रसाद गौलीले राती सुतेका बेला एउटा अनौठो सपना देखे । सपनामा भगवान शिव प्रकट हुनुभयो । यो ठाँउ मेरो पवित्र बासस्थान हो, मेरो सेवा गरे तिमिहरु सबैको भलो हुनेछ भन्नु भयो । त्यसपछिका समय विष्णु प्रसाद राम्ररी निदाउन सकेनन् । उनलाई आफू सपनामा छु की विपनामा छु जस्तो लाग्न थाल्यो । भोलिपल्ट विहानै उनी मस्र्याङ्दी नदी किनार पुगे । उनका कान डमरुको झङ्कार र शिव स्तुतिले भरिएजस्तै लाग्न थाल्यो । आँखा अगाडी भोलेनाथ बाबा उनको ताण्डव नृत्यमा नाचिरहे जस्तो लाग्यो । त्यसको केही समय पछि विष्णु प्रसाद गौलीले सन्यासी हुने निर्णय गरे । मानिसको जीवनमा जब भौतिक पदार्थहरुबाट तृप्ति र सन्तोष नमिल्ने अवस्था आउँछ । त्यसपछि अभिनव मार्गको खोज गरिरहँदा एकाएक देवत्यको अनुभूति हुन्छ । जसले जहाँबाट रसानुभूति गर्छ, त्यसका लागि त्यो नै सुखको कारक बन्छ । यो व्याख्या र विश्लेषणबाट मात्र बुझिने विषय होइन । आफैले अनुभव गर्ने कुरा हो । 

    images
    images
    images
    लेखक  राजु अधिकारी (1).png

    सिद्धार्थ गौतम २९ बर्षको उमेरमा राजदरबार त्यागी रातीको समय आफ्नी यशोधरा र नाबालक छोरा राहुल छोडी ज्ञानको खोजीमा हिँडेका थिए भनिन्छ । विष्णु प्रसाद ५४ बर्षको उमेरमा आफ्ना चार भाइ छोरा र दुई छोरी सहितको भव्य घरवार चटक्कै छोडेर बिहानीपख आफ्नो झोली लिएर निष्काम भावमा निस्कीए । घरबाट निस्कदा उनकी जहान दैलोबाट उनलाई परैसम्म पुग्दा पनि हेरीरहेकी थिइन् । उनको अनुहारमा न त आभा थियो न त दुःख, मात्र सुन्यता थियो । विष्णु प्रसाद मसानघाट नजिकै शिवालयमा एउटा कुटि बनाइ शिव भक्तिमा लाग्न थाले । लामा दाह्री र कपाल पाल्न थाले । दैनीक पूजाआजा गरे । शिवभक्तिको प्रभावले उनको मनमा कुनै भुत, प्रेत, पिशाचको डर रहेन । उनी सदा शान्त र प्रशन्न रहे । उनको अनुहारमा सबैले आभा देखे । 

    २०३५ सालमा कुल प्रसाद पोल, चन्द्र प्रसाद पोखरेल, चन्द्र बहादुर गेलाङ, मुकुन्द राज मिश्र,गजेन्द्र निधि तिवारीले शिवालय वरिपरि पूजाआजा गर्न थाले । खुशीराम मिश्र र उनका वन्धुहरु मिलि ठुला एकादशीको दिन पारेर मस्र्याङ्दी नदीमा पहिलोपल्ट फूलको डोरी तार्ने कामको सुरुवात गरे । गजेज्द्र निधि तिवारीले पुराण वाचन सुरु गरे । मान्छेहरुको आस्था र विश्वास त्यस ठाँउ प्रति झन् बढ्दै गयो,त्यसपछिका दिनमा श्रीमदभागवद् पुराण, एकादशी माहात्मे, शिवरात्रीमा शिवजीको पूजा, बाला चतुर्दशीमा सत्बीज छर्ने, विवाह, व्रतबन्ध आदि कार्य पनि सञ्चालन हुन थाल्यो । खासगरी ठूला एकादशीमा फूलको डोरी तार्ने काम भयो । हरीशयनी एकादशीबाट एकभत्त भई सात्विक भोजन गरी हरीबोधनी एकादशीमा फूलको डोरी तारेमा सय बर्षमा स्वर्गको बाटो खुल्छ भन्ने धार्मिक विश्वास छ । एकादशी मेला तीर्थ मेला मात्र रहेन सुरुबाट नै व्यापार र भेटघाटको संगम बन्यो । मान्छेहरुले बर्ष दिनका लागि चाँहिने कृिष औजारहरु,आँसी,नाङ्ला,डोका थुन्सेदेखी भटमास,दाल चिउरा,उखु आदिको किनमेल गर्न पनि त्यसै ठाँउमा थाले । लमजङका विभिन्न ठाँउहरु, तनहँुु र गोर्खाबाट मान्छेहरु व्यापारी र तीर्थयात्री बनेर आए । कालान्तरमा लमजुङ मात्र होइन तनहुँ र गोर्खाका भक्तजनहरु धमिक कार्य सञ्चालन गर्न पनि आउन थाले ।
     
    सनातनी हिन्दुहरु भन्छन् –उपासना, अध्ययन, असहाय व्यक्तिहरुप्रति सेवाभाव, कार्यमा जाँगर, पूर्ण आनन्द, आफूसँग भएको छोडीदिने र अब केही चाहिदैन भन्ने प्रबल भावना नै धर्म हो । तत्कालीन सुन्दबजारका सामाजिक तथा आध्यात्मिक व्यक्तित्व स्वर्गीय कृष्णलाल श्रेष्ठले शिवलिङ्ग र नागका मूर्तिलाई सिमेन्टका पिलर हाली जस्ताको छानो र गजुर राख्ने काम गरे । उनैले शिवालयको नाममा १२ रोपनी गुठी जग्गाको व्यावस्था गरे । २०५८ सालमा पुजारी विष्णु प्रसाद गौलीलाई सायुज्यता प्राप्त भयो । त्यसपछिका दिनमा उनकै साइँला छोरा विष्णु हरि गौलीले शिवालयमा पूजाआजाको काम सुरु गरे । २०५४ सालमा पण्डित नारायण प्रसाद पोखरेलको वाचनमा श्रीमद भागवत महापुराण सप्ताहा महायज्ञको आयोजना गरियो । 

    २०७८ मा कर्मदा नदीका शिवजी मन्दिर संरक्षण समिति गठन भयो । डा.टकराज गुरुङको अध्यक्षतामा गठित कार्यसमितिमा चन्द्र प्रसाद पोखरेल वरिष्ठ उपाध्यक्ष, उत्तमराज मिश्र उपाध्यक्ष, गौतम पोखरेल सचिव, शोभा कार्की मिश्र कोषाध्यक्ष, सुदिपकान्त अधिकारी सह सचिव,सदस्यहरु धुर्वराज पोखरेल, शिवकुमार पोखरेल, कमल नारायण श्रेष्ठ,जमुना भुजेल, सिर्जना तिवारी पोखरेल रहनुभयो । समितिले धार्मिक पर्यटनको रुपमा यो ठाँउलाई विकास गरी कसरी आकार्षणको केन्द्रविन्दू बनाउने भनेर गुरुयोजना बनायो । गुरुयोजना अन्तर्गत १०८ फिट अग्लो शिव मूर्ति बनाउने, राइनास ९ राम्चेमा रहेको तार्दीखोलाबाट पानी ल्याई १०८ धारा बनाउने, १०८ शिवलिङ्ग स्थापना गर्ने, शिवालय वरिपरि शिव बाटिका बनाउने र यस क्षेत्रलाइ धार्मिक तथा पर्यटकीय भूमिको रुपमा चिनाउने । मस्र्याङ्दी नदीको मनोरम दृष्यसँगै उत्तरतर्फ देखिने गणेश, मनास्लु अन्नपूर्ण माछापुछ्रे हिमाल आदिको अवलोकन गदै र्याफ्टिङ गर्ने । 

    यसै अनुरुप २०७८ साल वैशाख ११ गते चैत्र शुक्ल द्वादशीका दिन ८ बजेको शुभसाइतमा धार्मिक विधि र मन्त्रोच्चारण सहित धार्मिक गुरु लक्ष्यानन्द गिरिबाट १०८ फिटको मूर्तिका  शिलान्यास गरियो ।   

    २०७८ आषाढ १ गते आएको विनासकारी बाढीले शिवालय मन्दिरमा क्षति पुर्यायो तर पनि मन्दिरलाई जीवन्त राख्न र धार्मिक पर्यटनलाई बढावा दिन १०८ फिट अग्लो शिवको मूर्तिसँगै वासुकी नाग ,बसाहा, गणेशको मूर्ति निर्माण गरीएको छ । यी मूर्ति उदयपुरका कालीगड एक बहादुर कार्की र उनका सहयोगीहरुले ३ वर्ष लगाएर बनाएका हुन् । मूर्तिमा सिमेन्ट,बालुवा,ढुङ्गा, गिटी,इट्टा,तामा,फलाम आदि प्रयोग गरिएको छ । देवीदेवताका मूर्तिहरु कालीगडले आफ्नो स्वेच्छाले बनाउने होइन । उसलाइ दिएका आदेशलाइ पालना गरेर बनाउने हो र ती आदेश धर्म ग्रन्थ वा वेदमा वर्णित आदेश हुन् । यहाँका मूर्तिहरु यसरी नै बनाइएका छन् ।

     'मन चङ्गा त कचौरामा गंगा' भन्ने उखान त छ तर पनि यो साच्चैको गंगा (मस्र्याङ्दि) र शिवको जुन विराजमान स्वरुप छ, त्यसले मन र शरिर दुबैलाई चङ्गा बनाउँछ ।  

    पुर्वीय कला दर्शनमा बिम्ब र शाम्भ गरी दुई वस्तुलाई मूर्तिकलामा जोडेको पाइन्छ । बिम्ब भनेको वाह्य प्रकट रुप हो भने शाम्भ भनेको अन्तस्करणको रुप हो, भाव दृष्टि हो । भाव वा मुद्राका आधारमा मूर्तिहरु बनाइन्छ । शिवलाई प्राचिन शात्रले शाम्भसदाशिव भनी व्याख्या गरेको छ, किनभने शिव अप्रकटीय रुप हो । मूर्तिहरु भाव मुद्राका आधारमा बनाइएको हुन्छ । यो हाम्रो भूमि योगको भूमि भएकाले मान्छेहरुलाई ध्यान या भाव जगतमा लैजाने प्रयास स्वरुप बनाइएका प्रतिकहरु हुन् मूर्तिहरु । अमूर्त स्वरुप बुझ्न कठिन छ त्यसैले पनि भगवानका अमूर्त भाव बुझ्न सजिलोको लागि मूर्तिहरु कुदिएका हुन् । हाम्रो जीवन मूर्त वस्तुबाट भन्दा बढी अमूर्त वस्तुबाट बढी सोचालित छ । यिनै अमूर्त भावहरुलाई दर्शाउन मूर्तिको रचना गरिएको हो । फेरी मूर्त र अमूर्त एक अर्काका परिपूरक चिज पनि त हुन् ।

    दिगम्बर स्वरुपको शिव मूर्ति भगवान शिवको अनेक स्वरुप मध्ये अभय मुद्रामा निर्माण गरीएको छ । दायाँ हातले भगवान शिवले औलाको विशेष आकारद्धारा विशेष मुद्रामा आर्शिवाद प्रकट गनु भएको छ । धर्मनिष्ठ भक्तिमा औलाहरुको विशिष्ट आकार बनाइने प्रविधिलाई मुद्रा नामले सम्बोधन गरिएको छ । जीवन्त जीवनको अहोभाव पाउन मुद्राको महत्व आफ्नै छ । मुद्राले पापलाई पगालेर ग्रहदोषबाट छुटकरा गराउँछ । मुद्रा शक्तिबोध गराउने क्रिया अभिव्यक्ति हो । मुद्रा मूकभाव हो । बाणीको सीमा सकिएपछि अर्थात शब्दद्घारा गरीने स्तुतिगान अर्थहीन हुनथालेपछि इष्टदेवलाई प्रसन्न राख्न मुद्राको आविश्कार भएको हो । अर्को हातले शिवले त्रिशुले समाउनुभएको छ ।  त्रिशुलमा तिन बटा चुच्चा छन् ती शुल हुन् । तिनलाई वेदमा उदय, संरक्षण र विनास वा सत्य,रज र तम गुणको रुपमा पनि व्याख्या गरिएको छ । शिवको घाटिमा बासुकी नाग छन् । नाग वा सर्प वायुमण्डलीय परिशुद्धताको प्रतिक हो । शिवको जटालाई वायुमण्डल र शिरमा भएको चन्द्रमालाई मनको प्रतिकको रुपमा मानिन्छ । शिवका तीन वटा आँखा छन् दुई वटा आँखा लोभ र तृष्णाको प्रतिक हुन भने तेस्रो आँखा अलौकीक सृष्टिको । शिवले पहिरीएको बाघको छाला हिसांको प्रतिरोध हो भने शिवको त्रिशुलमा जडित डमरु संगीतको प्रतिक हो ।

    करिव २ करोडको लागतमा बनेको मूर्तिले शिवालय क्षेत्रको शौन्दर्यलाई थप उजागर गरेको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत २२० केभी लाइन बिस्तार गर्ने क्रममा मन्दिर गुठी जग्गा १ रोपनी अधिकरण भएको छ र त्यसबापत प्राप्त करिब रु ५७,००००० गुठी संस्थानको निग्रानीमा अक्षयकोष खडा गरिएको छ । यसको व्याजबाट मन्दिर व्यावस्थान गर्ने गरिएको छ । २२० केभी लाइन विस्तार गर्ने क्रममा तार मुनीको जग्गाको क्षतिपूर्ति बापत प्राप्त रकम रु ७६,२०००० बाट नै यस क्षेत्रका संरचनाहरु सुरुवात गरिएको हो । यसपछि नेपाल सरकार,सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र विभिन्न चन्दादाता आदिको सहयोगमा निर्माण कार्य भइरहेको छ ।

    मानिस पारिवारिक सुख, पापमोचन, विध्नशान्ति, पवित्रता ऐश्वर्यवृद्धिका लागि तीर्थस्थल धाउँछ ।  यिनै अमुर्त चिजका खातिर मान्छे मूर्ति प्रति झुक्छ । मस्र्याङ्दी नदी जुन हामी शितप्रभा र कर्मदा नदीका नामले पनि चिन्छौ यसको आफ्नै धार्मिक महत्व छ । यसको उद्गमस्थल ४९१९ मि. को उचाइमा रहेको तिलीचो ताल हो ।  जहाँ वैदिक कालमा काक भुशुण्डि र भगवान शिव स्वयंले तपस्या गरेको थिए भनिन्छ । 'मन चङ्गा त कचौरामा गंगा' भन्ने उखान त छ तर पनि यो साच्चैको गंगा (मस्र्याङ्दि) र शिवको जुन विराजमान स्वरुप छ, त्यसले मन र शरिर दुबैलाई चङ्गा बनाउँछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।