देवदह । रुपन्देहीको देवदहमा रक्तदान गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय नियमित जसो रक्तदान कार्यक्रम हुँदै आएको देवदहमा शनिबार स्थानीय पल्लवी साकोसले आयोजना गरेको कार्यक्रममा एकदिनमै १०१ पोइन्ट रगत संकलन भएको छ । 
"दिनभर जसो बर्षात् भई नै राख्यो । मौसमले त्यति साथ नदिएपनि राम्रै मात्रामा रगत संकलन गर्न सकियो" आयोजक संस्थाका ब्यवस्थापक केशव आचार्यले सेतोमसीलाई बताए । सहकारीले देवदह वडा नं. १ मा सेवा विस्तार गरेको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ८० पोइन्ट जति रगत संकलन हुने अपेक्षा गरिएको भएपनि स्थानीयको उल्लेख्य सहभागीताले अपेक्षा भन्दा धेरै रगत संकलन गर्न सफल भएको सहकारीले जनाएको छ ।
देवदहमा पछिल्लो समयमा हुँदै आएका रक्तदान कार्यक्रम र त्यसबाट संकलन भएको रगतको मात्रालाई आधार मान्ने हो भने देवदह आसपासमा रक्तदान गर्न ईच्छुक व्यक्तिको संख्या दिनानुदिन वृद्धि हुँदै गएको अनुमान लगाउन सकिन्छ । 
लुम्बिनी प्रदेश सहकारी बोर्ड सदस्य तथा जिल्ला सहकारी बोर्ड सचिव टीका न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहयोगी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम साकोसका अध्यक्ष दिवाकर अधिकारीको अध्यक्षता तथा सचीव मिना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology