देवदह । देवदह प्रहरी चौकीले लागूऔषध र बालविवाह सम्बन्धी सचेतना अभियानलाई तिव्रता दिईरहेकोे छ । प्रहरी चौकीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत देवदह क्षेत्रमा रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध र बालविवाह सम्बन्धी सचेतना कार्यक्रमलाई तिव्रता दिएको हो ।
प्रहरी चौकीले भविष्य निर्माण माध्यमिक विद्यालय देवदह–४, भवानीपुर र कोटही आधारभूत विद्यालय देवदह–३, सिसपुरमा लागूऔषध तथा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले लागूऔषध, बालविवाह र यस सम्वन्धी भएका कानुनी प्रावधानको विषयमा विद्यार्थीहरुलाई सचेतना सँगै जानकारी दिएका थिए।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी निरीक्षक नेपालीले लागूऔषध भनेको के हो ? यसले मानिसको शरीरलाई कसरी असर गर्छ र लागूऔषध प्रयोगकर्ताहरूको लागि कानुनी प्रावधान के छ भन्ने विषयमा प्रकाश पारेका थिए । लागूऔषधका कारण मृत्युवरण समेत गर्नुपर्ने भएकोले यस तर्फ विद्यार्थीहरू सचेत र सजग हुनु पर्ने प्रहरी निरीक्षक नेपालीले बताए ।
पछिल्लो समय १५ देखि १९ बर्स सम्मका बालबालिकाहरू लागू औषधमा फस्दै गएको बताउँदै लागूऔषध न्यूनिकरण गर्ने उद्देश्यले अभियानको सुरुवात गरेको प्रहरी निरीक्षक नेपालीले बताए । लागूऔषध र मादक पदार्थले मानसिक असर गर्ने भएकोले अभिभावकहरू समेत सचेत हुन आवश्यक रहेको बताए ।
सोही अवसरमा बालविवाहको विषयमा विद्यार्थीहरूलाई सचेत गराउँदै २० भन्दा कम उमेरमा विवाह गरेमा कानुनी कारवाही हुने बताए । उनले लागूऔषधका कारण समाजमा अपराध सृजना हुने भएकोले लागूऔषध न्यूनिकरण गर्न सबै लाग्नु पर्नेमा जोड दिए । उनले अपराध रहित समाज निर्माण गर्न जनप्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन बीच समन्वय र सहकार्य गर्न आवश्यक रहेको औँल्याए ।
कोटही आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमबहादुर आलेको अध्यक्षता, देवदह–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्यालको प्रमुख आतिथ्यता, कोटही आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेको स्वागत र शिक्षक सुनिता लामिछानेको सञ्चलनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology