देवदह । विद्यालयमा अध्ययनरत छात्राहरूलाई सरकारले नि:शुल्क उपलब्ध गराउने सेनेटरी प्याड खरिदको विषयले यतिबेला देवदह तताएको छ । चर्को मूल्यमा गुणस्तरहिन प्याड खरिद भएको विषय बाहिर आएपछि सेनेटरी प्याड प्रकरण के हो भन्दै सामाजिक संजालमा नगरवासीले जिज्ञासा राखेका छन् ।
गत वर्षहरूमा नगरपालिकाले आफै प्याड खरिद गरेर विद्यालयलाई प्याड दिदै आएकोमा यो पटकदेखि विद्यालयको खातामा पैसा पठाएर आवश्यक प्याड खरिद गर्न नगरपालिकाले विद्यालयलाई अनुमति दियो । विद्यालयको खातामा पैसा जाने भएपछि विद्यालयले एक सप्लायर्ससंग सम्झौता गरेर खरिद कार्य अघि बढाए ।
२०८० माघ ७ गते देवदहका १७ वटा विद्यालयले बुटवल-६ स्थित सुबी मेडिकल एण्ड सर्जिकल सप्लायर्स प्रालिसंग सम्झौता गरि अधिकांशले आवश्यक प्याड खरिद भुक्तानी समेत दिईसकेपछि एकातिर प्याड गुणस्तरीय नभएको विषय छात्राहरूले बाहिर ल्याए भने अर्कोतिर बजार मूल्यभन्दा निकै महंगोमा प्याड खरिद गरिएको खुलासा भयो ।
यतिखेर देवदह नगर शिक्षा शाखा र सामुदायिक विद्यालयका प्रअको बीचमा एक अर्कालाई आरोपित गर्ने कार्य जारि छ । सप्लायर्ससंग सम्झौता र भुक्तानी विद्यालयका प्रधानाध्यापकले गरेको हुनाले उनीहरूमाथि कानुनी प्रश्न उठेको छ भने प्रअहरूले शिक्षा शाखातर्फ प्रश्न तेर्स्याएका छन् । अधिकांश प्रधानाध्यापकले शिक्षा शाखाले फसाएको तर्क गरेका छन् भने नगरपालिकाले विद्यालयको खातामा पैसा पठाएको र विद्यालयले नै सम्झौता गरेर प्याड खरिद गरेको भन्दै प्रश्न प्रअ तिर नै फर्काईदिएको छ ।
२०८० पुष ७ गते देवदहका १७ वटा विद्यालयका प्रअहरूले सप्लायर्ससंग प्याड खरिदको सम्झौता गरे । देवदह नगरपालिकाको स्थानीय तहस्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समितिले २०८० पुष २४ गते कार्यविधिले तोकेको मापदण्ड बमोजिम नेपाल गुणस्तर चिन्ह प्राप्त सेनेटरी प्याडको सुनिश्चितता गर्ने निर्णय गर्यो । वितरण तथा व्यवस्थापन समितिको निर्णय बमोजिम नगरपालिकाले विद्यालयको खातामा पैसा पठाईदियो । नगरपालिकाबाट विद्यालयको खातामा पैसा गएपछि सप्लायर्सले प्याड उपलब्ध गरायो र विद्यालयले सम्झौता बमोजिमको भुक्तानी दियो ।
यसैबीचमा प्याड गुणस्तरहिन भएको गुनासो आएपछि नगरपालिकालाई सेतोमसीले प्रश्न गर्यो । अनुगमन गरिने र कमजोरी देखिए कारवाहीको दायरामा ल्याईने विषय सेतोमसीकर्मीलाई जानकारी गराएको केही दिनमै फागुन १६ गते सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि र सार्वजनिक खरिद ऐन अनुसार गर्न गराउन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यालयलाई पत्र लेखे ।
फागुन १७ गते नेपाल गुणस्तर चिन्ह प्राप्त (School Girl Ultra XL Sanitary Pad 8 pcs 280 mm) साइजको सेनिटरी प्याड मु.अ.कर सहित ४५ रूपैयामा उपलब्ध गराउन सकिने पत्र जश्मिन हाइजिन प्रोडक्टस प्रा.लि. ले देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापकलई पठायो ।
फागुन २२ गते बिहान नगरपालिकामा भएको सप्लार्यस सहितको बैठकमा नगरपालिकाको निर्देशन बमोजिम मु.अ. कर सहित ११३ रुपैयामा प्याड विक्री सम्झौता गरेको सप्लायर्स ४५ रुपैयामा सेनिटरी प्याड उपलब्ध गराउन तयार भयो । तर अधिकांश विद्यालय उक्त सप्लायर्ससंग काम गर्न इच्छुक भएनन् र पैसा फिर्ता मागे । जसमध्ये देवदह माविको पैसा सप्लायर्सले फिर्ता गरिसकेको प्रअ हरी पाण्डेले बताएका छन भने अरू विद्यालयको पनि पैसा फिर्ता गर्न सप्लायर्स सहमत भएको नगरपालिका स्रोतले जनाएको छ ।
देवदह नगरपालिकाले सेनिटरी प्याड तोकिएको मापदण्ड र गुणस्तर बमोजिम भए/नभएको परीक्षण गरी नतिजा उपलब्ध गराइदिन अनुरोध गर्दै नापतौल तथा गुणस्तर विभागलाई अनुरोध गरि पठाएको र विभागको निर्णयको पर्खाईमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सेतोमसीलाई बताएका छन् । साथै सेनेटरी प्याड खरिदका लागि सम्बन्धित विद्यालयको खातामा नै रकम निकासा गरिएको र खरिद प्रक्रियामा रहेका प्रक्रियागत त्रृटी सच्चाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
सेनेटरी प्याड प्रकरण नगरपालिका र विद्यालयले भने झैँ प्रक्रियागत त्रुटी मात्रै हो या नियतबश गरिएको भ्रष्टाचार हो त्यो राज्यका आधिकारिक निकायले अनुसन्धान गरि सत्य बाहिर ल्याउलान् तर नेपाल सरकारका अधिकृत तहका व्यक्ति अहिले माध्यमिक विद्यालयका प्रअ छन् । शिक्षा शाखा त झन् दशौँ तहका उपसचिवको नेतृत्वमा छ । केरवानी र देवदह माविका प्रअ मावि दोस्रो तहका शिक्षक हुन्, जुन उपसचिव सरहको वरियता हो । यस्ता जिम्मेवार निकायका जिम्मेवार पदाधिकारीले ४५ मा पाइने प्याडलाई बुझ्दै नबुझी ११३ मा खरिद सम्झौता किन गरे ?
विषय त्यतिमात्र छैन, हरेक विद्यालयमा विद्यालय व्यवस्थापन समिति छ । त्यहाँ खरिद समिति छ तर कुनै पनि विद्यालयका प्रअले प्याड खरिदको विषय विद्यालयको खरिद समितिमा पुर्याएकै छैनन् । एकाध विद्यालयका प्रअ बाहेकले प्याड खरिदको विषय विद्यालय व्यवस्थापन समितिको बैठकमा समेत लैजान आवश्यक ठानेनन् । यसले एकातिर प्रधानाध्यापकहरूले नै प्रक्रिया पुरा नगरी सम्झौता र भुक्तानी गरेको देखिन्छ भने अर्कोतिर विद्यालयको निरीक्षण र निगरानी निकाय शिक्षा शाखाले नै बैठक बोलाएर फास्ट ट्रयाकबाट सम्झौता गराएको भन्ने प्रअहरूको तर्कले शिक्षा शाखाकाको नियतमाथि पनि प्रश्न गर्न सकिने ठाउँ छ ।
यद्यपि शिक्षा शाखा प्रमुख टिकाराम शर्मा प्रश्न मूल्यमाभन्दा पनि गुणस्तरमा प्रश्न गरिनुपर्ने बताउछन । आर्थिक अभियान दैनिकमा प्रकाशित कम्पनीको सूचनामा कम्पनीको दर १२० उल्लेख भएको हुनाले ११३ मा खरिद गर्दा पालिकालाई र विद्यालयलाई फाइदा नै होला र छात्राहरूले राम्रो क्वालिटीको सेनेटरी प्याड प्रयोग गर्न पाउलान भन्ने उद्धेश्यले प्रअहरूलाई राम्रै छ भने बुझेर, प्रक्रिया अनुसार सम्झौता गर्न सुझाईएको शिक्षा अधिकारी शर्माको भनाई छ ।
प्रक्रियामा जे सुकै भएपनि प्याडको विषय बाहिर आएको छ र यसले विद्यालय र शिक्षा शाखामाथि कानुनीसंगै नैतिक प्रश्न पनि तेर्स्याएको छ । छोरी नातिनी उमेरका छात्राहरूले प्रयोग गर्ने प्याडमा भएको यो तहको लापरवाही यतिकै सेलाउने देखिदैन । नगरपालिकाले नगरपालिकाको सुशासन समितिलाई अध्ययन गर्न दिएर सुशासन समितिको निर्णय अनुसार कारवाही अघि बढाउने गरि तयारी गरेको जनाईएको छ भने स्थानिय 'अभियन्ता' हरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने र कमजोरी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने बताईरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology