परासी । दलित मुक्ति मोर्चाले नवलपरासीमा भएको हजुरबुबा र नाति हत्याको गम्भिर अनुसन्धान गर्न माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै मोर्चाले सुस्ता गाउँपालिकामा दलित समुदायमाथि आक्रमण बढेको भन्दै गम्भीर अनुसन्धान गरि सुरक्षाको सुनिश्चतता गर्न अनुरोध गरेको छ ।
मोर्चाका जिल्ला इञ्चार्ज अगवीर वि.क. र अध्यक्ष वीर वहादुर विश्वकर्मासहितद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जिल्लाको (ब.सु.प.) सुस्ता गाउँपालिका वडा नं. ३ मा २०८० फागुन ०१ गतेको राती एकै घरका ६५ वर्षीय अक्षयलाल चमार र १२ वर्षीय गौचरन चमार (हजुरबुबा र नाती) को हत्या मानवता विरुद्धको बर्बर र निशृंस अपराधको रुपमा घटित भएको उल्लेख गरिएको छ । घटनाले मानवता र सामाजिक सद्भावको मूल्यलाई तिरस्कार गरिदिएको विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा लेखिएको छ - "अत्यन्तै निम्न वर्गीय अवस्थाबाट जीवन बाँचिरहेका हजुरबुबा र नाती आफ्नै खरको छाप्रो घरमा सुतिरहेका बेला हतियार प्रयोग गरी उनको निशृंस हत्या गर्नुले राज्यको सुरक्षा प्रणाली तथा सामाजिक सुरक्षालाई समेत उदांगो पारेको छ । दलित समुदायका यी गरिब व्यक्तिहरुले सुरक्षा नपाई आपराधिक शैलीमा हत्या बेहोर्नु लोकतन्त्र, शान्ति सुरक्षा र मानवअधिकारको पूर्ण उल्लङघन हो । यस्तो गर्ने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन ।"
सुस्ता गाउँपालिकाभित्र कुनै न कुनै बखत गरिब र दलित परिवारले ज्यान गुमाउँदै र उनीहरूमाथि आक्रमण हुँदै आएको जनाउदै गत महिना मात्र सुस्ता गाँउपालिका वडा नं. १ न्यू धौलागिरी सुनचाँदी पसलका प्रोपाईटर गजेन्द्र विश्वकर्मा र उनका छोरालाई गोली र खुकुरीको प्रहारबाट हत्याको प्रयास गरिएको जनाईएको छ । त्यसको छानबीन पुरा हुनै नपाई फेरि यो घटना थपिनुले नागरिकको जीउ ज्यानको असुरक्षा बढाएको र अपराधिक घटनालाई निस्तेज पार्न नसक्नु सुरक्षा निकायको गम्भीर कमजोरी देखिएको विज्ञप्तिमा उल्लेख छ ।
"घटनाको मिहिन अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन र शान्ति, सुशासन र सुव्यवस्थाको ग्यारेन्टी गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गाउँपालिका तथा सम्बन्धित निकायसँग मागसहित पिडित परिवारलाई उचित क्षतिपूर्ति भराई सुरक्षाको प्रत्याभूति गराउन माग गर्दछौ ।" विज्ञप्तिमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology