बुटवल । रूपन्देहीको देवदहमा अवस्थित देवदह मदर टङ्स एकेडेमीले स्थापनाको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव मनाएको छ । सप्ताहब्यापी कार्यक्रम गर्दै आएको मदर टङ्सले भलिवल, फुटवल, शिक्षक, अभिभावक मैत्रीपुर्ण खेलकुद तथा शैक्षिक गतिविधीका पुरस्कारहरु वितरण गरेर विद्यालयले शनिबार मुल समारोहका साथ रजत जयन्ती मनाएको हो ।
विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममको उद्घाटन गर्दै प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले शिक्षा र शिक्षालयमा कुनै खालको विभेद हुन नहुने बताए ।
संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक जनशक्ति उत्पादनमा बरावर योगदान रहेको उल्लेख गर्दै उनले विभेद होइन दुबै शैक्षिक संस्थाहरुलाई राज्यले संगसँगै लैजानु पर्ने जिकिर गरे ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि सानोसानो लगानी गरेर ठुला शैक्षिक संस्थाका भवनहरु स्थापित गरेका निजी शैक्षिक संस्थाहरु गुठीमा जान नसक्ने बताए । शैक्षिक विकास र समृद्धिकालागि संस्थागत विद्यालयले ठुलो योगदान दिएको उल्लेख गर्दै उनले सरकारी तथा गैर सरकारी, वित्तिय, ब्यवस्थापकीय क्षेत्रमा निजी क्षेत्रबाट उत्पादीत जनशक्ति प्रयोग भएको दावी गरे । कार्यक्रममा विद्यालयका प्राचार्य रामबहादुर गुरुङले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेल, प्याब्सन नेपालका देवदह सल्लाहकार बोधराज गौडेल, महेश पराजुली, प्याब्सन कोषाध्यक्ष टिकाराम चापागाई, आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल लगायतले विद्यालयले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालयका सहप्राचार्य यमलाल शर्माको संचालनमा भएको कार्यक्रममा रजत महोत्सवमा आयोजित विभिन्न रचनात्मक कार्यक्रमका विजेता, शैक्षिक गतिविधीमा उत्कृष्ट विद्यार्थी, दिर्घसेवा र लगनशिल शिक्षक कर्मचारी लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।