देवदह । देवदह नगरपालिकाको १३ औं नगर सभा सुरू भएको छ । नगरसभा अन्तर्गतको प्रथम बैठक बुधबार सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख धुव्रप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न १३ औं नगर सभाको प्रथम बैठकले १२ औ नगर सभाले पारित गरेको योजनाहरू आवश्यक शंसोधन गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । "बैठकले वडाअध्यक्षहरुले विविध विषयमा राखेको बजेटलाई समेत योजनामा रुपान्तरण गर्दै पारित गरेको छ" प्रवक्ता डुम्रेले भने "आर्थिक बर्ष २०८०÷०८१ को लागि १२औं नगर सभाबाट पारित गरिएको ८१ लाख ५० हजार बरावरको योजनाको शिर्षक संशोधन गरिएको छ ।"
नगर सभामा संशोधित योजना प्रस्तुत गर्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले १२ औं नगर सभाबाट पारित गरिएको योजनाहरु समयमै सम्पन्न गर्ने गरी योजनाको शिर्षक परिवर्तन गरिएको बताईन् ।
यता ७ वटा वडाका वडा अध्यक्ष सहित ३२ जना नगरसभा सदस्य नगरसभाको बैठकमा अनुपस्थित भएका छन् । उनीहरूले आफूहरूले नगर सभा बहिष्कार गरेको बताएका छन् ।
सेतोमसीसंग कुरा गर्दै वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनारले कुनै पनि तयारी र कार्यपालिका बैठकमा आवश्यक समझदारी बिना नगरसभा बैठक बोलाईएकोले आफूहरूले बहिष्कार गरेको बताए । "खेलकुद विकास समितिको संयोजक मनोनितको विषयमा कार्यविधि र विगतको नजिरभन्दा बाहिर गएर कार्यपालिका सदस्यभन्दा बाहिरको व्यक्ति सिफारिस गरिएको, नगरपालिकाका बेथिति, भ्रष्टाचार र बेरुजु नियन्त्रण गर्न लेखा समितिले दिएको सुझावलाई नगरप्रमुखले बेवास्ता गरेको र बहुमतले पेलेर जाने गरेकोले हामीले नगरसभा बहिष्कार गरेका हौं ।" उनले भने, "आज देवदहका १२ वडामध्ये ७ वटा वडाका अध्यक्षलाई बाहिर राखेर, देवदहका बहुमत नगरवासीले मतदान गरेर निर्वाचित गरेर पठाएका जनप्रतिनिधिलाई वेवास्ता गरेर जसरी काम भैरहेको त्यसले गम्भिर संकट निम्त्याउने छ ।"
६५ मध्ये ३३ जना नगर सभा सदस्यको उपस्थितिमा प्रथम बैठक सम्पन्न भएको र बहुमतले निर्णय गरेको पुष्टि गर्दै नगर प्रवक्ता डुम्रेले अर्को बैठकसम्म खेलकुद विकास समितिको संयोजक चयन लगायतका विषयमा आवश्यक छलफल हुने र सबै नगरसभा सदस्यको उपस्थितिमा नगरसभाको अर्को बैठक गर्ने गरि छलफल भैरहेको बताए ।
नगर सभा बहिष्कार गर्ने वडा अध्यक्षहरूमा नेपाली काँग्रेसबाट निर्वाचित वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारू र राप्रपाबाट निर्वाचित वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology