देवदह । देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले नेपाल जेसीसको ५०औँ महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका देवदह जेसीसका संस्थापक अध्यक्ष विजय गुरुङलाई शुभकामना दिएका छन् । शनिबार देवदह जेसीसले आयोजना गरेको उम्मेदवारी प्रवर्धन कार्यक्रम अन्तरगतको परामर्श तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले गुरुङलाई आफुले साथ दिने बताए ।
"जेसीसको ५०औँ महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, यो देवदहको लागि गर्वको विषय हो" कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले भने, " यो प्रतिष्पर्धामा तपाईं एक्लो हुनुहुन्न, सिंगो देवदह साथमा छ ।"
देवदहका युवाहरूले राष्ट्रिय स्तरका संघसंस्थाको नेतृत्व गर्ने अवसर पाउनु देवदहको लागि गौरवको विषय रहेको विचार व्यक्त गर्दै प्रमुख खरेलले देवदहको विकास र समृद्धिमा युवाहरूको भूमिका महत्वपुर्ण हुने र नगरपालिकाले युवाहरूलाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै देवदहका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले देवदहले जेसीसको राष्ट्रिय अध्यक्षको प्रतिस्पर्धीको रूपमा विजय गुरुङलाई पाउनु देवदहको लागि गर्वको विषय रहेको बताए । उनले देवदह जेसीस स्थापनाको छोटो समयमै संस्थापक अध्यक्ष राष्ट्रिय अध्यक्षको दावेदारको तहमा पुग्नुले अवसर पाउँदा देवदहका युवाले देशकै नेतृत्व लिन सक्छन भन्ने उदाहरण भएको बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको युवाको प्रगति देवदहको प्रगति भएकोले राजनीति र विचारबाट माथि उठेर विजय गुरुङलाई विजयी गराउन देवदहवासीले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले युवालाई आवश्यक पर्दा युवाले नै साथ दिनुपर्ने भएकोले आफुले राजनीतिभन्दा माथि उठेर विजयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने, "जेसीस, रोटरी, लायन्स जस्ता संस्थाको राष्ट्रिय नेतृत्व लिने अवसर देवादहाले पाउँछ भने देवदहका युवाले यो मौकालाई खेर जान दिनु हुँदैन, डाइनामिक लिडर विजयी जीलाई विजयी गराउन मेरो तर्फबाट पुरै सहयोग रहन्छ ।"
सो अवसरमा देवदह जेसिसका अध्यक्ष दुर्गा दाहाल, पुर्व अध्यक्षहरू सुरेन्द्र अधिकारी, विष्णु न्यौपाने, केशबराज पराजुली, महासचिव आनन्द पराजुली, उपाध्यक्ष राजेन्द्र न्यौपाने, भलवारी जेसीसका चिरन्जीवी भुसाल लगायतले बोलेका थिए ।
नेपाल जेसीसका देशभर १७८ वटा शाखा रहेका छन् । १८-२० वर्ष उमेर समुहका युवाहरू सदस्य बन्न सक्ने जेसीसमा देशका पाँच सयबढी पालिकामा १७ हजारको हाराहारीमा सदस्य रहेको जनाईएको छ ।
जेसीसको ५०औं अधिवेशन यहि पुष २९ देखि माघ १ गतेसम्म बुटवलमा हुँदैछ । जेसीसको राष्ट्रिय अध्यक्षमा देवदहका जेसीसका संस्थापक अध्यक्ष विजय गुरुङसंगै नुवाकोट जेसीस, मनोहरा जेसीस र भक्तपुर लेडी जेसीसले पनि नेतृत्वमा दावी गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology