देवदह । देवदह नगरपालिका वडा नं. ५ मा बाल क्लबले बालमैत्री सचेतना देउसी भैलो संचालन गरेको छ । सोमबार बिहान १० बजे सिद्धार्थ कलोनीबाट सचेतनामूलक देउसी भैलो सुरुवात गरिएको हो ।
बालविवाह, बालश्रम, सुर्ती तथा मदिराजन्य पदार्थको किनबेच र ओसारपसारमा बालबालिकाको दुरूपयोग लगायतको विरुद्ध सचेतना जगाउन र बालमैत्री स्थानिय शासनको लागि आवश्यक सूचक पुरा गर्न देउसी भैलो आयोजना गरिएको देवदह नगरपालिकाका नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए ।
गीत, अभिनय तथा जानकारीमुलक व्यानर सहित बालबालिकाले टोल टोलमा सचेतनामूलक देउसी भैलो संचालन गरेका छन् ।
वडाका २१ वटै टोलमा पुगेर भैलो खेलिने कार्यक्रम अन्तरगत सोमबार सिद्धार्थ कलोनी टोल, बैकुण्ठनगर टोल र गोठादी मार्ग टोल, नमुना हरियाली, माथादेबी मार्ग टोल, सगरमाथामा टोल र दुर्गा नगर टोल, आदर्श टोल, पाल्पाली टोल, सत्यवती टोल, नमुना टोल, माथादेबी टोल, मितेरी टोल, दुर्गा मन्दिर टोल र सुन्दर टोलमा बालबालिकाहरू भैलो खेलेका छन् ।
मंगलबार प्रगतिबजार दुर्गा मन्दिर परिसरमा प्रगती बजार टोल, लौकेस्वर कलोनी टोल, कलुवा चोक, गुरुङटोला चोक, गुरुङटोला र लौकेस्वर कलोनी टोलमा पश्चात खैरेनी चोकमा पुगेर देउसी भैलोको समापन गरिने जनाईएको छ ।
बालमैत्री वडा घोषणाको लागि आवश्यक सूचक पुरा गर्न देवदह नगरपालिका वडा नं. ५ ले निरन्तर प्रयास गर्दै आएको छ । वडा बाल प्रोफाइल निर्माण गरेर योजनाबद्ध ढंगले अभियान संचालन गरेको वडा नं ५ ले यसघि वडा अन्तरगतका सबै टोल र सबै विद्यालयमा समेत अभियान संचालन गरिसकेको छ। ५९औं बालदिवसको अवसरमा बालमैत्री बाताबरण, बालमैत्री मापदण्ड, सुचकहरुको पुर्णताको लागि टोल स्तरीय प्रशिक्षण र वडा अन्तरगतका विद्यालयहरूमा बालदिवस विशेष प्रतियोगिता तथा प्रतिभा प्रदर्शनका लगायतका कार्यक्रम संचालन गरेको थियो ।
देवदह ५ लाई बालमैत्री वडा बनाउन बाल बिवाह र सुर्तीजन्य बस्तु बाधक बनेको निष्कर्ष निकालेको वडा नं ५ ले बाल बिवाह र लागू पदार्थ सुर्तीजन्य बस्तुको सेवन बालबालिकामा व्यापक देखिएकोले समस्या समाधान गर्न रणनीतिक रुपमा लाग्ने र विभिन्न संघसंस्थाको सहयोग लिने कार्ययोजना समेत पारित गरेर अभियान संचालन गरिरहेको छ ।
वडामा बालमैत्री स्थानीय शासनका ५१ मध्ये ३२ सुचक पूरा भएको र १९ सुचक कार्यन्वयनको चरणमा रहेको वडा कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology