राहुल देव सापकोटा, देवदह । टाढा पनि होईन, देवदह नगरपालिका कार्यालयबाट मात्रै १० किलोमिटरको दुरी छ । देशको नागरिकता छ, हरेक चुनाबमा यो बस्तीका मान्छेले भोट हाल्छन् र तीनकै भोटले चुनिन्छन् शासकहरू । तर चुनाबमा चिनिने यो बस्तीबारे आजभने सबै बेखबर छन् । कथा हो, देवदहको एक मल्लाही बस्तीको ।
देवदहको मुख्य बजार क्षेत्र खैरेनीबाट १२-१३ किलोमिटर दक्षिणमा मल्लाही बस्ती छ । यो बस्तीमा १२ घर छन् । जहाँ झन्डै ६० जना बसोबास गर्छन् । सबै परिवार आर्थिक रुपमा अत्यन्तै कमजोर छन्, त्यसमाथि अधिकांश शारीरिक रूपमा अपाङ्ग समेत छन् । साँझ-बिहान के खाने पिरलोमा पिल्सिएको यो बस्तीले आजसम्म सुखको मुख देखेको छैन ।
दशैं भर्खरमात्रै बिदा भएर तिहारको रौनक बढ्दैछ । बजारमा परिवारका लागि लुगाफाँटो किन्ने ग्राहकको भिडभाड छ । घरहरु सिङ्गारिएका छन् । दिपावलीमा घरहरू झिलिमिली बनाउने, देउसी-भैलो खेल्ने र आशिष दिने तयारीमा नौजवानहरू जुटेका छन् । तर मल्लाही बस्तीलाई आजसम्म न कुनै पर्वले छुन सकेको छ, नत कसैले आशिष नै दिएको छ । अभावै अभावले थिचिएको यो बस्तीमा आजसम्म अन्धकार छ । विद्युतको मिटर किन्न नसकेर अध्यारोमै जीवन कटाएको मल्लाही बस्ती छिमेकी गाउँमा झिलिमिली बत्ती बलेको टाढैबाट टुलुटुलु हेर्न विवश छ ।

४५ वर्षीय बिन्देश्वरी शर्मा जो आफ्नी श्रीमती, तीन छोरा संगित, सुवास र सागरसंगै यो बस्तीमा बस्दै आएका छन् । अशिक्षा र गरिबीका कारण आफू ४५ वर्षको हुँदासम्म पनि केही गर्न नसकेको पिडा उनको निदारको गाँठाले मात्रै बोलेन, जिब्रोले समेत बोल्यो । उनले भने, "केही गर्न सकिएन घरमा बिजुलीसम्म जोड्न सकिएन नत छोराहरुलाई पढाउँन सकियो ।"
बिन्देश्वरी शर्माको घरदेखि केही पर रहेको एक घर जहाँ ४६ वर्षीय फुन्दरी मल्लाह र उनकी छोरी बस्छिन् । अगेनाको खरानीले देक्ची र थाल मस्काइरहेकी फुन्दरीकी छोरीले पनि घरमा बिजुली नभएको, आफुले पढ्ने मन हुँदाहुँदैपनि पढ्न नपाएको र बेरोजगारीका कारण आफूहरूको जीवन नै अध्यारो भएको पिडा पोखिन् ।
मल्लाह बस्तीका एक युवा सुनिल मल्लाह अन्य नगरबासी सरह मल्लाही बस्तीका बासिन्दालाई जीवन जिउने रहर हुँदाहुँदै पनि कसैले सहयोग नगर्दा यस बस्तीको दुख दुर हुन नसकेको बताए । "आर्थिक अवस्था कमजोर छ । साझं बिहान कै समस्या छ । अशिक्षा छ । बेरोजगारी छ । एउटा बिजुलीको मिटर लगाउन नसक्दा पुरै बस्ती अन्धकार छ । सर यहाँ धेरै दुख छ" उनले सबै समस्या एकै स्वासमा व्यक्त गरे ।
मिटर किन्न नसक्दा मल्लाही बस्तीमा बिजुली बलेन : वडा अध्यक्ष सारू
देवदह नगरपालिका वडा नम्बर १२ भित्रको मल्लाही बस्तीको समस्याको विषयमा वडा कार्यालयले के गरिरहेको छ भन्ने प्रश्नमा वडा अध्यक्ष डेग बहादुर सारूले वडा कार्यालय समस्याबारे जानकार रहेको भएपनि केही गर्न नसकिएको बताए । "आर्थिक रूपमा कमजोर परिवार बस्छन मिटर किन्न नसकेर मल्लाह टोलको १२-१३ घरमा बिजुली बलेको छैन" उनले भने । वडा कार्यालयबाट राहतको कार्यक्रम ल्याएर अध्यारोमा रहेको वस्तीलाई उज्यालो दिने त्यस्तो केही कार्यक्रम छ कि भन्ने प्रश्नमा अध्यक्ष सारुले अहिलेसम्म त्यस्तो कार्यक्रम नरहेको बताए । उनले भने, "वडाको त्यस्तो केही कार्यक्रम छैन, एउटा संस्थाले केही काम गर्दैछ भन्ने सुनेको छु।"
मल्लाही बस्तीको समस्याबारे जानकारी थिएन, आवश्यक पहल गर्छु : नगरप्रमुख खरेल
मल्लाही बस्तीको समस्याबारे सेतोमसीले देवदह नगरपालिकाका नगर प्रमुख ध्रुबप्रसाद खरेलसंग जिज्ञासा राख्दा उनले समस्याबारे जानकारी नभएको बताए । थप बुझेर समस्या हल गर्न आवश्यक पहल गर्ने जनाउंदै प्रमुख खरेलले सम्पूर्ण नगरबासीलाई नगरपालिकाले समान रूपमा हेर्ने र कहीं ठूलो समस्या भए त्यसलाई प्राथमिकतामा राखेर समाधान गर्ने बताए ।
उज्यालोको सारथी बन्दै समृद्ध समुदाय विकास केन्द्र
वडा अध्यक्ष डेगबहादुर सारुले एउटा संस्थाले बिजुलीको मिटर व्यवस्थापनमा काम गरिरहेकोबारे आफु जानकार रहेको जनाएपछि उक्त संस्थाबारे खोज्दै जाँदा समृद्ध समुदाय विकास केन्द्रले उक्त बस्तीमा काम गरिरहेको भेटियो । हामीसंगको कुराकानीमा केन्द्रका व्यवस्थापक युवराज चापागाईंले आफ्नो संस्थाले सबै समस्या हल गर्न नसकेपनि कम्तिमा मल्लाह बस्तीलाई अन्धकारबाट बाहिर निकाल्नुपर्छ र बिजुलीको उज्यालो दिनुपर्छ भन्ने मान्यता अनुसार मिटर बक्स जडानमा काम गरिरहेको बताए । केन्द्रका सहजकर्ता वर्षा विकले स्थानिय युवाहरू सुनिल मल्लाह, अजय कुमार पासी, पुनम यादव, विद्या हरिजन, बिजय मल्लाह, अनिता मल्लाह, महेश मल्लाह, कुश्मा मल्लाह लगायतको समूह बनाएर काम गरिरहेको उनको भनाई छ ।
समृद्ध समुदाय विकास केन्द्रले बनाएको समूहका एक सदस्य सुनिल मल्लाहले सुनिल मल्लाहले चार घरमा बिजुलीको मिटर लगाउने काम सकिएको बताए । उनले भने " १२ मध्ये चार घरमा लगाईयो अब आठ घरमा बाँकी छ । त्यसको लागि पनि प्रयास जारी छ ।"
विद्युत मिटरको लागि भैरहवाबाट एक सय रूपैयाँ तिरेर फारम किनेर ल्याउनुपर्ने र स्थानिय विद्युत कार्यालयमा तीन हजार तिर्नुपर्ने भएकोले चार घरको लागि उक्त प्रक्रिया पुरा भएको र अन्य घरले वडा कार्यालयमा तिर्नुपर्ने तिरो तिर्न नसक्दा वडाले सिफारिस नदिएर काम अगाडी बढ्न नसकेको उनले बताए ।
हामी एकैछिन बिजुली काटिदा तनाबमा हुन्छौं । विद्युत कार्यालयमा फोन गर्छौं, कतिपयले २४सै घण्टा बिजुलीको लागि इन्भर्टर समेत जडान गरेर राखेका छौं तर हामि बचेकै युगमा हाम्रै छेउमा रहेको एउटा बस्ति नै अन्धकारमा छ । अशिक्षा, बेरोजगारी र अन्धकारको भुमरीबाट बाहिर निकालेर मल्लाही बस्तीलाई पनि हामीसंगै हिडाउनु राज्य संयन्त्र, समृद्ध समुदाय विकास केन्द्र जस्ता अन्य समाजिक संघसंस्था र हामी सबैको साझा दायित्व हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology