देवदह । देवदह नगरपालिका वडा नं. ७ मा मुख्य कार्यालय रहेको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा मोतिलाल ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको ११औ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले ढकाललाई अध्यक्षमा दोहोर्याउदैं नयाँ कार्यसमिति चयन गरेको हो।
एक हजार आठ सय बढी सदस्य रहेको उक्त सहकारीको उपाध्यक्षमा सुन्दरी गिरि, सचिवमा केशर बहादुर पुन, कोषाध्यक्षमा अमृत बहादुर फुल्लेल र सदस्यहरूमा टिका बहादुर परियार, प्रेमकला ढकाल, गणेश बहादुर खाती र एक नारायण रिजाल सर्वसम्मत चयन भएका छन्। त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा खेम नारायण अधिकारी र सदस्यमा सिमा दर्जी र दुर्गा प्रसाद भुर्तेल चयन भएका छन्।
निर्वाचन मण्डलका संयोजक लेखनाथ थापा, सदस्य रामचन्द्र पौडेल र सदस्य गीता रुचाल तथा शेयर सदस्यहरूको प्रयन्तले सर्वसम्मत नेतृत्व चयन भएको सहकारीले जनाएको छ।
यसैबीच कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य सन्दिप सापकोटाले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै इमान्दार प्रयत्न गरेर अगाडी बढ्ने सहकारीहरू सफल देखिएको बताए । सहकारीलाई उद्देश्य अनुरुप संचालन गर्न सके सुख-दु:खको साथी बन्न सक्ने र त्यसको उदाहरणको रूपमा निर्माण लगायतका सहकारी देखिएको उनको भनाई छ।
कार्यक्रममा देवदह नगरपालिकाका सहकारी शाखा प्रमुख गङ्गा पन्थी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रमणी डुम्रे, जिल्ला सहाकारी संघका उपाध्यक्ष टिका न्यौपाने, कोषाध्यक्ष शुभकान्त न्यौपाने, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने लगायतले बोलेका थिए।
सो अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ शेयर सदस्य, उत्कृष्ट किसान, उत्कृष्ट व्यवसायी, धेरै शेयर सदस्य बनाउने सक्रिय शेयर सदस्य तथा निवर्तमान कार्यसमितिका पदाधिकारी र सदस्य लगायतलाई सम्मान गरिएको थियो।
५२७ जनाको निशुल्क सुगर तथा प्रेसर परिक्षण
यसैबीच लायन्स क्लब अफ देवदहको आयोजनामा संचालित निशुल्क सुगर तथा प्रेसर परिक्षण शिविरमा ५२७ जनाले स्वास्थ्य सेवा लिएका छन्। सहकारीका शेयर सदस्यहरूको नि:शुल्क स्वास्थ्य परिक्षणको लागि आयोजना गरिएको शिविरमा सेवा लिएकामध्ये ५३ जनामा सुगरको मात्रा उच्च देखिएको क्लबका सदस्य पवन पौडेलले जानकारी दिए ।

सुगर देखिएका बिरामीलाई उपचारको लागि सुझाईएको सेवा प्रवाहमा कार्यरत स्वास्थ्यकर्मीले जनाएका छन् । लायन्स क्लब अफ देवदहद्वारा आयोजित स्वास्थ्य शिबिरमा श्री कृष्ण पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको थियो।
क्लबले गत वर्षदेखि देवदहका अधिकांश सार्वजनिक तथा सामुदायिक कार्यक्रमहरूमा निशुल्क सुगर तथा प्रेसर परिक्षण गर्दै आएको र हालसम्म १० हजारको हाराहारी परिक्षण गरिएको क्लबका निवर्तमान अध्यक्ष विष्णु ज्ञवालीले बताए।
हेर्नुहोस यो भिडियो :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology