प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले हरेक बर्ष नयाँ निति कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हरेक आर्थिक बर्षमा गाउँपालिकाको गाउँसभाबाट बन्ने निति र योजनाहरु मध्ये केहि योजनाहरुको सिको पछिल्लो समय अन्य स्थानिय तहले पनि गर्दै आएका छन ।
गाउँपालिकाको भौतिक विकास संगै सामाजिक विकास तर्फ गाउँपालिकाका जनप्रतिनिधीले बनाउने नयाँ निति र योजनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष टेवा पुराउदै आएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८÷०७९ मा छोरीको भविष्यका लागि नयाँ निति आबलम्बन गर्ने भएको छ । छोरी बचाउ, छोरी पढाउ भन्ने नारालाई आत्म साथ गर्दै गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीको नाममा बैंक खाता संचालन गरी रु. १५ हजार जम्मा गरिदिने कार्यक्रम ल्याएको छ ।
ग्रामिण क्षेत्रमा छोरीलाई पढाउन र छोरीको भविष्य सुन्दर बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार जम्मा गर्छ र त्यो बच्चाको परिवारलाई पनि अनिवार्य कम्तीमा पाँच हजार वा त्यो भन्दा बढि रकम जम्मा गर्न लगाइन्छ । २० बर्षका लागि फिक्स डिपोजिटमा रकम जम्मा हुन्छ, जसले गर्दा त्यो रकम बढेर लाख सवा लाख पुग्छ छोरी २० बर्ष पुग्दा उच्च शिक्षाका लागि रकम प्रयोग गर्न सकिन्छ ” अध्यक्ष थापाले भने ।
यो कार्यक्रम पैसासंग मात्रै सम्बन्धित नभएर यसले गर्भावस्थाबाटै आमा र बच्चाको स्वास्थ्य प्रति परिवारको दायित्व बढाउनेछ । गाउँपालिकाले नियमित गर्भावतीले स्वास्थ्य संस्थामा चेकजाँच गरे नगरेको स्वास्थ्य संस्थाबाट जारी रिपोर्ट कार्ड अनिवार्य समेत गरेको छ । जसले गर्दा गर्भाअवस्थामा चेकजाँच गर्नेको संख्यामा बृद्धि हुने गाउँपालिकाले अपेक्षा गरेको छ । गर्भावतिले अनिवार्य बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउनु पर्ने छ । कार्यक्रम मार्फत, बच्चा जन्मेको ३५ दिनमा नै जन्मदर्ता गराइसक्नु पर्ने व्यवस्था रहेकोले बच्चाको जन्म दर्ता पनि समयमा नै हुने अध्यक्ष थापाले बताउनु भयो ।ति
मधेशमा महिलाको नागरिकता समयमा नै नबनाउने दरमा यो कार्यक्रमले कमि ल्याउने गाउँपालिका वडा ७ का वडा अध्यक्ष दिनेश चौधरीले बताए । “यो कार्यक्रमबाट जन्मदर्ता अनिवार्य भएपछि, आमाको नागरिकता पनि अनिवार्य हुन्छ, जसले गर्दा महिलाको नागरिकता पनि समयमा नै बन्छ । यसले महिला हिसाँमा समेत न्यूनिकरण ल्याउछ” चौधरी भने ।
गाउँपालिकाले पहिलो छोरीको खातामा जम्मा गरिदिने १५ हजारले छोरीलाई उच्च शिक्षा पढाउने भार पनि कम हुने र विहेवारी गर्दा लाग्ने खर्चमा समेत राहत पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । छोरीलाई नियमित विद्यालय जान र शिक्षा प्रति आर्कषित गर्न गाउँपालिकाले हरेक बर्ष कक्षा ६ भन्दा माथी अध्ययनरत छात्राहरुलाई साइकल, शैक्षिक सामाग्री, छात्रावृत्ति वितरण गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology