देवदह । देवदह नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत पूर्णकालीन शिक्षकहरूले नियम विपरित अन्य शैक्षिक संस्थामा पढाउने गरेको पाइएको छ। शिक्षक सेवा आयोग र नेपाल सरकारका अन्य 'प्रोजेक्ट' अन्तरगत पूर्णकालीन रूपमा कुनै एक विद्यालयमा पढाउने शिक्षकले आवश्यक प्रक्रिया विना क्याम्पस तथा निजी विद्यालयमा अध्यापन गरेको पाइएको हो ।
सामान्यत: पूर्णकालीन शिक्षकले अन्य विद्यालयमा अध्यापन गराउन पाइन्न । तर विशेष कारणले अध्यापन गर्नै पर्ने अवस्था आएमा आवश्यक प्रक्रिया पूरा गर्नु पर्ने हुन्छ । जसमा शिक्षकले आफू पूर्णकालीन रहेको प्रधानाध्यापकलाई निवेदन दिने, उक्त निवेदनलाई विद्यालय व्यवस्थापन समितिले अन्यत्र काम गर्दा विद्यालयलाई कुनै असर नपर्ने देखिएमा अनुमतिका लागि सिफारिस गर्न सक्ने, समितिको सिफारिसको निर्णयका आधारमा नगरपालिकाको शिक्षा शाखाले अध्ययन गरि आवश्यकता महसुस गरेमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई सिफारिस गर्ने र समन्वय इकाईले बढीमा दुई वर्षको लागि अनुमति दिन सक्ने प्रावधान छ । तर, देवदहका कुनै पनि शिक्षकले हाल उक्त प्रक्रिया पूरा नगरेको नगर शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकले अन्य शैक्षिक संस्थामा अध्यापन गर्ने गरेको विषयमा नगर शिक्षा शाखाका शिक्षा अधिकृत परशुराम ढकालले देवदहमा त्यसरी शिक्षकहरूले एकभन्दा बढी विद्यालयमा अध्यापन गर्ने गरेको पाइएको र उक्त कार्य नियमानुसार नभएको बताए । उनले भने, "हामी कहाँ कुनै पनि शिक्षकले अनुमतिको लागि सिफारिस गरिदिन प्रक्रिया अनुसार निवेदन दिनुभएको छैन, यसरी प्रक्रिया विना कुनै पनि पूर्णकालीन शिक्षकले अन्य शैक्षिक संस्थामा नोकरी गर्न नियमानुसार पाइन्न ।"
सोही विषयमा कुरा गर्दै नगर शिक्षा शाखा प्रमुख टिकाराम शर्माले शिक्षकहरूले बैधानिक प्रक्रिया पूरा नगरी एकभन्दा बढी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य गैरकानुनी समेत हुने बताए । विद्यालयका पूर्णकालीन शिक्षकहरूले प्रक्रिया पूरा नगरी अन्य विद्यालयमा पढाउने गरेको विषयमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष समेत सचेत हुनुपर्ने उनको भनाई छ ।
यसै सन्दर्भमा सेतोमसीसंग कुरा गर्दै केरवानी माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष सुशिला भट्टराईले तथ्य के हो बुझ्नुपर्ने बताईन्। "यस विषयमा के कसरी भएको हो ? तथ्य बुझेर विद्यालय व्यवस्थापन समितिमा आवश्यक निर्णय लिइनेछ" उनले भनिन्।
शिक्षण पेशा बौद्धिक श्रम हो । बौद्धिक श्रम गर्नेहरूलाई पनि आराम चाहिन्छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको अभ्यास अन्तराष्ट्रियस्तरमै कायम छ र त्यसलाई नेपालले समेत स्वीकार गरेको छ । तर यो सबै बुझेर पनि सामुदायिक विद्यालयमा अध्यापन गर्ने केही शिक्षकहरू बिहान ६ नबज्दै एउटा शैक्षिक संस्थामा पढाउन कुद्ने र १० बजे हस्याङ्फस्याङ् गर्दै अर्को विद्यालयमा पुगेर मोटरसाइकल रोकी हेलमेट उतार्ने गरेको विद्यार्थीहरू बताउँछन । देशभरि नै विद्यमान यस प्रकारको प्रवृत्तिलाई 'हेलमेट' संस्कृति र यसरी धेरै शैक्षिक संस्थामा पढाउने शिक्षकलाई 'हेलमेट शिक्षक' भन्ने शब्द समेत प्रयोग गरिएको पाइन्छ ।
शिक्षकले सामुदायिक विद्यालयमा 'गुणस्तरीय समय' दिन नसकेको विषयमा केही महिनाअघि केरवानी माविको अनुगमनपछि शिक्षकलाई निर्देशन दिने क्रममा देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले 'शिक्षक सामुदायिक विद्यालयमा आराम गर्न होइन, पढाउनका लागि आउनुपर्ने' टिप्पणी गरेका थिए । शिक्षक समयमै विद्यालय नपुग्ने र पुरै 'इफोर्ट' शिक्षण सिकाइमा नलगाएको बुझेरै नगर प्रमुखले उक्त टिप्पणी गरेको केरवानी माविकै एक शिक्षक बताउँछन ।
यसै विषयमा सेतोमसीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय भैरहवाका प्रमुख माधव बञ्जाडेसँग गरेको कुराकानीमा उनले दोहोरो प्राध्यापनले शिक्षण सिकाईमा असर पर्न सक्ने हुनाले यसको अनुगमन स्थानिय सरकार र शिक्षा शाखाले गर्नुपर्ने बताए। उनले भने, "स्थानीय सरकार संचालन ऐनले विद्यालय शिक्षाको सम्पूर्ण अधिकार स्थानिय तहलाई दिएको हुनाले यस विषयमा विद्यालय व्यवस्थापन समिति र स्थानिय तहले शिक्षक आचारसंहिता पालना भए नभएको निगरानी र आवश्यक निर्णय लिनुपर्छ।"
कानुन व्यवसायी समेत रहेका देवदहका एक युवा छवि भट्टराईले नगर शिक्षा समितिले कडाई नगर्ने हो भने सामुदायिक शिक्षाको स्तर बृद्धि हुन नसक्ने बताउँछन । "एउटा शिक्षकले एक भन्दाबढी विद्यालयमा पढाउने विषय शैक्षिक गुणस्तरसँग मात्र जोडिएको छैन, यो शैक्षिक बेरोजगारीसँग समेत सम्बन्धित छ । कोहि शिक्षकले धेरै ठाउँमा पढाउने र सोहि शैक्षिक योग्यता भएको अर्को व्यक्ति बेरोजगार हुनुपर्ने र अन्तत: विदेशिनुपर्ने अवस्था आउनु देशकै लागि सुखद र राम्रो होइन ।" उनी थप्छन्, "एक भन्दा बढी विद्यालयमा पढाउने शिक्षकहरूमध्ये अधिकांश 'पहुँचवाला' शिक्षक छन्, अर्थात उनीहरू विभिन्न दल निकट शिक्षक संघ/संगठनका सदस्य र जिम्मेवार पदमा समेत रहेका छन् । आज एकातिर योग्य युवाहरू जागिरको लागि भौतारिनु पर्ने अवस्था छ भने अर्कोतर्फ प्रक्रिया मिचेर केही व्यक्तिले दोहोरो जागिर खाएको अवस्था छ, योग्य नागरिक तयार गर्ने शिक्षकबाटै यस्तो कार्य हुनु गम्भीर विषय हो ।"
दुई शैक्षिक संस्थामा पढाउँदा अधिकांश शिक्षकको 'पार्ट टाइम' तर्फको आम्दानीको कर दाखिला नहुने सम्भावना अधिक हुने जानकारहरू बताउँछन। देवदहमै त्यसरी काम गर्दा आन्तिरक राजश्व कार्यालयमा जरिवाना तीर्नुका साथै जागिर छोड्नु परेका इतिहास रहेको उनीहरूको भनाई छ। यसरी काम गर्दा यो एकातिर अख्तियार दुरुपयोग भएको मानिने अर्को तर्फ राज्यले लिनुपर्ने कर समेत गुमेको हुन सक्ने कानुन व्यवसायी बताउँछन।"
यसरी सामुदायिक विद्यालयमा पूर्णकालीन रहेर अन्य शिक्षण संस्थामा पढाई रहेका शिक्षकहरूसँग सेतोमसीले कुरा गरेको छ । सेतोमसीसँग कुरा गर्दै तिनै शिक्षक मध्येका एक शिक्षक खेमानन्द ज्ञवाली जो केरवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्याक समेत हुन् र देवदह आदर्श बहुमुखी क्याम्पसमा पार्ट टाइम शिक्षकको रूपमा अध्यापनरत छन्, उनले आफुले अनुमति लिएर पढाई रहेको बताए । नगर शिक्षा शाखा र विद्यालय व्यवस्थापन समितिमा समेत तपाईंले अनुमति लिएको रेकर्ड देखिएन भन्ने प्रश्नमा धेरै पहिले अनुमति लिएको हुनाले त्यस्तो लागेको हुन सक्ने उनले बताए । "राज्यलाई आवश्यक कर तिरिएको छ र अनुमति लिएर पढाइएको छ, यसले विद्यालयको पढाईमा समस्या पार्छ भन्ने मलाई लाग्दैन" उनले भने ।
त्यसैगरी स्थानिय सगरमाथा कलेजमा समेत अध्यापन गर्ने केरवानी माविकै शिक्षक यज्ञप्रसाद न्यौपानेसँग हामीले गरेको कुराकानीमा उनले अनुमति लिनुपर्नेबारे त्यति जानकारी नभएको हुनाले अनुमति नलिएको स्वीकार गरे । केरवानी कै अर्का शिक्षक टेकनारायण पौडेल स्थानीय ग्रीनप्लान्ट आवासिय विद्यालयमा समेत पढाउछन् । उनले पनि अनुमति लिनुपर्ने प्रक्रिया नै थाहा नभएकोले अनुमति नलिएको बताए ।
भविष्य निर्माण मावि र देवदह आदर्श बहुमुखी क्याम्पस दुवै शैक्षिक संस्थामा अध्यापनरत शिक्षक श्यामप्रसाद न्यौपाने पनि अनुमति नलिई दुवै तर्फ पढाईरहेको बताउछन् । सेतोमसीसँग कुरा गर्दै शिक्षक न्यौपानेले आफू स्थायी शिक्षक नभएको हुनाले पनि अनुमति नलिएको र आवश्यक परेको खण्डमा अब अनुमति लिने बताए । त्यसै गरि जनता मावि र ग्रीनप्लान्ट आवासीय माविमा पढाउने शिक्षक रवि रेग्मीले पनि अनुमति विना नै दुवै तर्फ पढाएको बताए । अनुमति लिनुपर्छ भन्ने जानकारी नभएको हुनाले आफुले अहिलेसम्म यसरी नै पढाउदै आएको उनको भनाई छ ।
देवदहकै अर्को सामुदायिक विद्यालय खड्ग माविका प्रधानाध्यापक बाबुराम बस्नेतले पनि खड्ग माविसंगै सुनवलस्थित महाकवि देवकोटा क्याम्पसमा पढाउने गरेका छन । आफूले नियमानुसार अनुमति लिएर ‘पार्ट टाइम’ शिक्षकको रूपमा महाकवि देवकोटा क्याम्पसमा पढाएको दावी गर्दै उनले विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाले निर्देशन गरेको बखत जतिबेला पनि आफूले ‘पार्ट टाइम’ शिक्षण छोड्ने बताए ।
उल्लेखित शिक्षक बाहेक केरवानी माविका सहायक प्रधानाध्याक शिक्षक हिरण्यलाल लम्साल, शिक्षक सरोजकुमार न्यौपाने र होमनाथ शर्माले समेत केरवानी मावि र देवदह आदर्श बहुमुखी क्याम्पस दुवै तर्फ पढाई रहेको तथ्याङ्कले देखाउँछ । देवदहकै हकमा महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल, शिक्षक मिनप्रसाद भट्टराई र जनप्रिय माविका रमेश थापाले समेत देवदह आदर्श क्याम्पस र विद्यालयमा गरि दोहोरो अध्यापन गरिरहेको देखिन्छ ।
यतिमात्रै होइन, सुनवल र यस आसपासका सामुदायिक विद्यालयका शिक्षकले समेत देवदहमा आएर पढाएको पनि देखिन्छ । त्यसो त यो समस्या देवदहमा मात्रै होइन, देशका सबै भागमा कहिँ सानो त कहिँ ठुलो संख्यामा रहेको पाइन्छ । बेलाबखत विद्यार्थी संगठनहरूले समेत यसको विरोध समेत गर्दै आएका छन् ।
नेपाल शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुङ्गाना नियम कानुनको सबैले पालना गर्नु पर्ने बताउँछन्। "अन्यत्र पढाउनै नहुने भन्ने छैन तर तोकिएको प्रक्रिया पुरा गर्नुपर्छ। विद्यालयलाई असर नपर्ने गरि विद्यालय व्यवस्थापन, शिक्षा शाखा र शिक्षा इकाई कार्यालयको अनुमति लिएर शिक्षकले अन्यत्र पनि पढाउँन मिल्ने प्रावधान छ" केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका अध्यक्ष ढुङ्गानाले भने ।
यसरी शिक्षक-कर्मचारीले एकभन्दा धेरै स्थानमा अध्यापन गर्नुपर्ने बाध्यता समेत रहेको तर्क गर्दै उनी भन्छन्, "धेरै ठाउँमा जागिर गर्नु पर्ने व्यक्तिको बाध्यता पनि हो । राज्यले दिने न्युन तलबले जीविकोपार्जनमा समेत समस्या देखिन्छ । यो देशमा कर्मचारीको तलबका कारण पनि एकातिर वेथिति देखिएका छन भने अर्कोंतर्फ बौद्धिक पलायन बढेको छ ।"
शिक्षा समिति संयोजक समेत रहेका देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल बिहानी कक्षा दिवामा लगेपछि समस्या हल हुने बताउछन् । सेतोमसीसँग कुरा गर्दै प्रमुख खरेलले शैक्षिक सुधारको लागि आफुले काम गरिरहेको र सोहि अनुसार दरबन्दी मिलान लगायतका काम अगाडि बढेको बताए । "समस्या आएपछि त्यसको समाधान निस्किन्छ, अहिले बिहानमा चलिरहेका कक्षा दिउँसोमा लैजाने बित्तिकै धेरै समस्या हल हुन्छ ।"
शिक्षा नियमावली २०५९ को परिचछेद २२ मा शिक्षक तथा विद्यार्थीको आचारसंहिताको विषय छ जसको बुदा नम्बर १३३ मा शिक्षकले पालन गर्नुपर्ने आचार संहिता उल्लेख छ। जुन निम्नानुसार छ।
१३३. शिक्षकले पालन गर्नु पर्ने आचार संहिता :
( १ ) शिक्षकले देहाय बमोजिमको आचार संहिता पालन गर्नु पर्नेछ : -
(क) आफूलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नु पर्ने,
(ख) निर्धारित समयमा नियमित रुपले विद्यालयमा आए गएको समय जनाई हाजिर हुनु पर्ने र पहिले विदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनु नहुने,
(ग) आफ्नो सेवा सम्बन्धी कुरामा मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु नहुने,
(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि जस्ता सूचना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशित गर्न नहुने,
(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष सम्झनु पर्ने,
(च) आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सत्चारित्रतालाई प्रोत्साहन दिनुपर्ने
(छ) भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गमा फैलाउन नहुने,
(ज) सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र *शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू वहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने,
(झ) विद्यालय वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नु पर्ने,
ञ) नेपाल ".............को सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी देशको शान्ति, सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको अवहेलना हुने वा कुनै पनि कार्यालय वा अधिकृतको कानूनद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी प्रदर्शन, हड्ताल, थुनछेक तथा घेराउ गर्न नहुने।
*(ट) विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने ।
(२) उपनियम (१) बमोजिमको आचार संहिताको पालन भए नभएको अभिलेख शिक्षकहरुको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिले राख्नु पर्नेछ र आचार संहिता पालन नभएको भए त्यसको विवरण सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनु पर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology