कुनै समय थियो, आज थरुहट स्वायत्त प्रदेश घाेषणा, अर्काे दिन मगरात स्वायत्त प्रदेश घाेषणा, अर्काे दिन अर्काे अनि अर्काे यस्ताे हामी सबैले सुन्याै, भाेग्याै र अनुभूति गर्याै ।
२०५२ साल फाल्गुण १ गतेबाट शुरु भएकाे माओवादी जनयुद्ध शुरुका बर्षहरुमा सुस्त र आधारईलाकामा फ्याट्टफुट्ट घटनामा सिमित थियाे । जनयुद्धले सबै नेपालीहरुलाई छुन सकेकाे थिएन । जब याे कुरा माओवादी नेतृत्वले बुझ्याे र जनयुद्धमा वर्गिय बिषयका साथसाथै जातिय र क्षेत्रिय अधिकारकाे बिषय जाेड्याे। जनयुद्ध एकाएक अगाडि मात्र आएन। देशकाे झण्डै ८० प्रतिशत भुभाग माओवादीको कब्जामा पुग्याे । सबै जातजाति क्षेत्र वर्गले जनयुद्धलाई मुक्ति युद्ध बनाउँदा माओवादी आकार ह्वात्तै बढ्याे ।
हिजो माओवादी आन्दाेलनले स्थापित गरेकाे पहिचानकाे बिषय आज कता-कता ओझेल परे झै भएकोछ। त्यसकाे कारण माओवादी आन्दाेलन कमजाेर बन्नु हाे । जब देशमा माओवादी कमजाेर बन्याे, पहिचानकाे एजेन्डा पछि परेकाे छ। त्यसकारण उत्पिडित समुदायकाे हक, अधिकार र पहिचानकालागि सबै उत्पिडित समुदायले माओवादी आन्दोलन बलियाे बनाउनुको विकल्प छैन । महान दार्शनिककाे भनाई छ, "तपाईंसंग सहि बिचार र कार्यक्रम छ भने सबै चिज प्राप्त हुन्छ, यदि तपाईंसंग सहि बिचार, सिद्धान्त र कार्यक्रम भएन भने भएकाे पनि गुम्छ ।" दार्शनिकहरूको यसै कुराले पनि पुष्टि गर्दछ कि, माओवादी आन्दोलनसंग सहि, विचार, राजनीति र दृष्टिकोण थियो जसका कारण गणतन्त्र, धर्म निरपेक्षता, संघियता र समावेसी प्रतिनिधित्वको विषयलाई आज यो देशको संविधानको अपरिबर्तनिय अंग बनेको छ।
आज केहि प्रतिगामी शक्तिहरूले यिनै महत्वपुर्ण उपलब्धीमाथि प्रहार गर्ने प्रयत्न गरेपनि याे देशमा उत्पिडित जाति समुदायकाे आवाज उठाएर राज्यकाे पहुँचबाट किनार लगाईएका आदिवासी, जनजाती र आर्थिक रूपमा विपन्न खस-आर्य समेतलाई राज्यको मुल प्रवाहमा जाेड्ने भनेकाे माओवादी नै हाे । मधेश आन्दोलन, थरुहट आन्दोलन र आदिवासी-जनजाति आन्दोलन जनयुद्ध कै पराकम्पन हुन् । हिजो, आज र भाेलि पनि उत्पिडित समुदायकाे भाषा-सँस्कति र पहिचानकाे बिषय माओवादी कै एजण्डा हाे ।
अहिले देशमा समृद्धिका चर्काेचर्काे कुरा गर्न राजनैतिक दलहरुमा तछाड मछाड छन । तर यहाँनेर राजनैतिक दलहरुले भुलेकाे पक्ष के हाे भने, जवसम्म देशभित्र बसाेबास गर्ने सम्पूर्ण नागरिककाे भावनात्मक एकता हुदैन, तब सम्म समृद्धि कुरा मात्र हाे । देशभित्र बसाेबास गर्ने नागरिकलाई पहिचान दिने कुरालाई जातिय देख्ने नश्लीय चस्मा नबदलि हामी अगाडि जान सक्दैनाै । याे देश कुनै अमुक जातिकाे हैन । याे देशमा बसाेबास गर्ने सम्पुर्ण जातजाति, क्षेत्रबर्गकाे साझा फूलवारी हाे - याे देश । फुलबारीमा फुलेका रंगीचंगी फूलका आ-आफ्ना नाम छन्, तर ती सबै फूलहरुकाे साझानाम फूलवारी हाे । फूलबारीमा फुलेकाे गुलावकाे फूललाई गुलाव भने जस्तै हाे - पहिचान भनेकाे । तर यहाँका नश्लीय चिन्तन भएका मान्छेहरु पहिचानलाई जातिय देख्छन, जाे स्पष्ट रूपमा भन्दा विकास र सम्मृद्धिका विरोधी हुन्। जबसम्म देशभित्र बसाेबास गर्ने नागरिकले याे देश मेराे हाे भनेर गर्व गर्ने अवस्था आउन्न, तबसम्म राजनैतिक स्थिरता असम्भव छ। स्थिरता बिना विकास र समृद्धि असम्भव छ । त्यसकारण हिजो असहमति राखिएका बिषयलाई पुन: उठान गरि संविधान संशोधन गरेर देशकाे भावनात्मक एकीकरण गर्न जरुरी छ ।
थरुहट, मगरात, तमुवान, आदि पहिचान दिए पनि याे नेपाल हाे र नेपाली भनेका थारु, मधेसी, मगर, राई, लिम्बू सबै हुन्। पहिचान सहित राज्यका हरेक तहमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराएपछि बल्ल देशमा राजनैतिक स्थिरता हुन्छ र सबैकाे साझा पहलमा देश समृद्धिको मार्गमा अगाडि बढ्छ । हैन, शासकहरूले जातिय अहँकार बाेकेर अरुलाई अधिकार दिने कुरामा कन्जुस्याइँ गरे भने स्थायी शान्ति प्राप्त हुदैन। त्यसकारण राजनैतिक स्थिरता सहित समृद्धिको मार्गमा अगाडि बढ्न स्वशासन र पहिचान सहितकाे संघीय राज्य व्यवस्था निर्माणमा सबै दलले पहल गर्नुपर्छ । माओवादी आन्दोलनले जन्माएकाे उत्पिडित राष्ट्रियताकाे पहिचानरुपी बालक दुब्लाएकाे छ । यसलाई पाेषण दिएर हुर्काउन सबैले पहल गराै ।
लेखक चौधरी नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश कार्यालय सदस्य हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology