बुटवल । बुटवलमा निशुल्क 'महिला स्वास्थ्य शिविर' भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरु भएको हो।
शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको नि:शुल्क पोषण अबस्था परिक्षण पनि शुरु भएको छ।
शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पुर्याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताए ।
महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने उनको भनाई छ ।
'हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं' उनले भने, 'यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ।'
सो क्रममा आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी गरिरहेको जानकारी दिदै नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५-१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताए ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्याल, स्थानीय आनन्दमान शाक्य लगायतले धारणा राखेका थिए।
शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology