काठमाडौँ । महानगरले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थाहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
मेयर शाहले महानगरभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्वास्थ्यमन्त्रीलाई एक साताको अल्टिमेटम समेत दिएका छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार नगरेको भन्दै उनले अस्पताल बन्द गर्ने चेतावनी दिएका हुन्।
प्रमुख साहले स्वास्थमन्त्री मोहन बस्नेतलाई भेटेर कानुन बमोजिम नगरेको भन्दै ती संस्थाको नाम दिएर ७ दिन भित्र कानुनी दायरामा ल्याउन ध्यानाकर्षण गराएका छन्। मन्त्रीले कारबाही नगरे महानगर आफैले ७ दिन पछि अस्पताल प्रशासनमा ताला लगाउने चेतावनी दिएकाे बताएका छन् ।
बालेनले भनेका छन् –काठमाडौं महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ।
यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology