प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताए । 'यसका लागि हिजोका दिनमा तपाईंहरूले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरूसँग सहयोगको अपिल गर्न चाहन्छु,' प्रधानमन्त्रीले भने ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताए । 'अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो', प्रधानमन्त्री प्रचण्डले भने, 'देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।'
उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताए ।
'जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु', उनले भने ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
'हिजो राज्यले काठमाडौं नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो', उनले भने, 'अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओइरिने छन् ।'
तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology