काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री दाहालले यस्तो बताए । उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पारे ।
उनले सबै प्रकाकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभुति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताए । प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए ।
उनले ज्येष्ठ पत्रकार र अपांगता भएका पत्रकारहरुका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताए । उनले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology