Logo

२०८३, आश्विन ९गते


images
images

अक्षर

भयो तिमी कुनै सपना नदेख

भयो तिमी कुनै सपना नदेख

images
  • भयो तिमी कुनै सपना नदेख
    images
    images

    जसरी एकै सवारीमासँगै सवार गरिरहेका कयौं यात्रीहरुको गन्तव्य एउटै हुँदैन त्यसरी नै जिन्दगीसँग लड्दै, रम्दै र गुनासाे गर्दै अगाडि बढिरहेका यात्रीहरुका रहर, चाहना, उद्वेश्य र गन्तव्यहरु पनि धेरै भिन्नै हुने गर्छन्। सबैलाई एउटै गन्तव्यमा ओराल्न खोज्नु केवल मुर्खता मात्र हुने गर्छ।
          
    सामन्यतया सबै मानिसहरू बराबर नै हुन्छन्। फरक त केवल हामीले हेर्ने दृष्टिकोण र हाम्रा विचारहरु मात्र हुन। यद्यपि कसैका विचारमात्रै उसका सपना भने पक्कै होइनन् ।

    images
    images
    images

    सपना देख्ने होडबाजी

    हिजो छिमेकी घरमा करिब चार बर्षे बाबुको जन्मदिन रहेछ। चलिरहेको नाचगानको रमाइलोसँगै माहोललाई अझ रमाइलो बनाउन केक काट्ने, टीका लगाउने र आशीर्वाद दिनेक्रम सुरु भयो।

    images
    images
    images

    आशीर्वादहरु:
    "मेरो ज्ञानी छोरो ठूलो मान्छे बन्नु। डाक्टर बनेर सबैको सेवा गर्नु है!"
    "मेरो सानो हिरो। तिम्रा सबै सपना हामी पूरा गर्नेछौँ। तिमी मन लगाएर धेरै पढेर मैले पूरा गर्न नसकेको सपना पूरा गर्नुपर्छ है!"
    "ज्ञानी छौ। पछि बाबा जस्तै सरकारी जागीरे भएको देखेर मर्न पाइयोस्।"
           
    निदाउँदा देखिने सपना पनि राम्रोसँग नबुझेको उसले अनेक सपना पूरा गर्ने आशीर्वाद पाइसक्यो। अधुरा सपना पूरा गर्नुपर्ने नदेखिदो भार पनि उठाइसक्यो। आफू को हो नचिनेको उसले सबैलाई चिन्दै सबैतिर चिनिनुपर्ने जिम्मेवारी बोकिसक्यो।
           
    आशीर्वाद केही होइनन् तर उनै आशिर्वाद सबैथोक पनि हुन् । आशीर्वाद ग्रहण गर्दैमा कोहि त्यस्तै हुने भन्ने त होइन तर दिइएका आशीर्वाद  जस्तै ऊ हास्ने, खेल्ने र हुर्कने माहोल पनि त्यही परिवेशको बन्यो भने?

    images
    images
    images

    के उसले आफ्नो सपनाबारे कहिले हेक्का राख्ने अवसर पाउँछ होला त?

    सपना के को आधारमा देखिन्छ ?

    जन्मिदै कसैले केही सिकेको हुँदैन। केही बुझेको हुँदैन। जति जति जीवनलाई देख्न थाल्छ, बामे सर्दै जिन्दगीका पानाहरु कोर्न थाल्छ,  ऊ आफैले आफ्नो इक्ष्या, चाहना, खुबी र दक्षताको बिषय चिन्न थाल्छ। आफुले अपनाउनुपर्ने बाटो, रोज्नुपर्ने गोरेटो र मोड्नुपर्ने दोबाटोहरु सबै बुझ्न थाल्छ।
               
    एउटा चराले आफ्नो बचरालाई गुणबाट किन खसाल्छ?
    माया नभएर हो त?
    आफुले पाल्न दु:ख भएर हो त?
    पक्कै पनि होइन।
       
    कुनै पनि कुरा बगिरहेको पानी जस्तै हुन्छन् नजिकै नपुगेसम्म गहिराई नै नदेखिने र नहोमिएसम्म बुझ्दै नबुझिने। बुझ्न र सिक्नलाई त्यो परिस्थितिमा होमिनु नै आवश्यक हुन्छ।
          
    भनिन्छ नि, कतिपय कुराहरु देखेर र सुनेर पनि बुझिन्छ बस् आफुलाई सोही ठाउँमा राखेर हेर्न सक्नुपर्यो। तर, होईन । मानिसले त्यतिमात्र पीडा र खुसीको अनुभुत गर्छ जति उसको कल्पनामा बसेको छ। त्यो भन्दा बढी उसले चाहेर पनि सोच्न र बुझ्न सक्दैन।

    शल्यक्रिया गर्दा काटिएको घाउ एउटै होला तर दुखाइ सबैको एउटै हुन्छ भन्ने जरुरी छैन। पानीबिनाको माछा र घोडाको पीडा एउटै हुनै सक्दैन।
             
    सपना पनि त्यसतै हो। केही गरिरहदा गरिरहन मन लाग्ने, बिस्तारै बाँच्दै जादा बाँचिरहन मन लाग्ने। फलानो यो बन्यो, यसो गर्यो, यहाँ पुग्यो भन्ने सोच्नुभन्दा पनि म कहाँ छु? म हुनुपर्ने कहाँ हो? मैले के गर्न सक्छु? के गरिरहेको छु? भन्ने कुरामा हेक्का राख्दै कुनै कुरा जिउने आधार बन्छ भने त्यो नै सपना हो।
             
    "मैले कस्तो सपना देख्दा ठिक हुन्छ?"
    कसैले मलाई सोही प्रश्न गरे म भन्नेछु " यो प्रश्न नै गलत छ।"
          
    तिम्रो जन्म तिमी स्वयंको निर्णय थिएन तर, तिमी के बनेर बाँच्न चाहन्छौ? जीवन कस्तो बनाउने? त्यो नितान्त तिम्रो निर्णय हुनुपर्दछ।
           
    तिमीले कसैका अधुरा चाहनाहरु पुरा गरिदिन अवस्य सक्छौ तर ती चाहना र सपना तिम्रो पनि सपना नै बन्नुपर्छ भन्ने जरुरी छैन।
    जीवनका पाटाहरुमा अनेक किस्साहरु कोरिन्छन् तर सपना?
    सपना जहिले एउटैमा मात्र सिमित रहन्छ। तर, त्यही सपना पनि तिमीलाई कसैको भरमा लिनुपर्छ भने भयो तिमी कुनै सपना नदेख।

    - लाईशा भुसाल (अक्षर )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सपना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।