पुजा लम्साल, नवलपरासी । पश्चिम नवलपरासीमा नयाँ उद्योग दर्ता गर्ने क्रम घटेको छ । देशमा विद्यमान् आर्थिक सङ्कटले उद्योग कलकारखाना तथा व्यापार व्यवसायमा नयाँ प्रवेशी प्रोत्साहित नभए पछि दर्ता क्रम घटेको हो । अघिल्लो आर्थिक वर्षमा लघु, घरेलु तथा साना उद्योगमा लगानी उत्साहजनक देखिए पनि पछिल्लो समय घटेको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेले बताए ।
‘गत वर्ष उद्योग दर्तामा निशुल्क दर्ता रहेकाले कृषि फर्महरुको दर्ता बढ्न गयो ’ उनले भने ‘पछिल्लो समय आर्थिक सङ्कट तथा प्रोत्साहन लगायत कारणले उद्योग दर्ता गर्ने क्रम घटेको छ ।’ गत आर्थिक वर्ष ०७८- ७९ को दोस्रो चौमासिकसम्ममा एक हजार १६६ उद्योग दर्ता भएका थिए तर चालु आव ०७९/८० को दोस्रो चौमासिक सम्म जिल्लामा ३८३ वटा मात्र उद्योग दर्ता भएका छन् । गत वर्षभन्दा यो वर्ष ७८३ ले कम हो ।
पाँच लाख सम्म लगानी भएका उद्योग, व्यवसायहरु स्थानिय तहमा दर्ता हुने हुनाले यस तथ्याङ्कमा समावेश नगरीएको तथा कम्पनीमा दर्ता हुने प्राय उद्योगहरु सुचिकृत रुपान्तरण हुन नआउने प्रचलनले पनि कार्यालयमा नया उद्योग दर्ता गर्ने क्रम घटेको उद्योग अधिकृत पाण्डे बताउछ्न्। कार्यालयले आठ वर्गीकरणमा राखेर लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको पाइन्छ ।
जसमा उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनजन्य, खनिज, पर्यटन, सेवामूलक, निर्माण र सूचना तथा प्रविधि उद्योग छन् । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी नविन बस्यालका अनुसार अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को फाल्गुन महिना सम्ममा सवैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग तर्फ २०२ उद्योग दर्ता भएका छन् ।
यस्तै सेवामुलक उद्योगतर्फ १३५ र उत्पादनमुलक उद्योगतर्फ ४६ वटा गरी जम्मा ३८३ वटा उद्योग थपिएका छन् । सो अवधिमा ऊर्जामूलक, खनिजजन्य, निर्माणमूलक, पर्यटन र सञ्चार सूचना प्रविधि उद्योग कुनै पनि दर्ता भएका छैनन । दर्ता भएका ति उद्योगहरुमा ३३ करोड ७४ लाख ८४ हजार ९ सय रकम लगानी भएको सूचना अधिकारी बस्यालले बताए । यस्तै पछिल्लो आठ महिना सम्ममा वाणिज्य तर्फ प्राईभेट फर्म ३७३ र साझेदारी फर्म ५ वटा गरी ३७८ वटा फर्म दर्ता भएका सूचना अधिकारी बस्यालले जानकारी दिनुभयो ।
गत वर्षको सोही अवधिमा प्राईभेट फर्म ९४१ र साझेदारी फर्म ७ गरी ९४८ फर्म दर्ता भएका थिए । हाल दर्ता भएका उद्योगबाट उद्यमी बन्नेको संख्या ४१० पुगेको छ । जसमा २५२ महिला र १५८ पुरुष छन् । यस्तै एक हजार २ जनालाई रोजगार प्रस्ताव गरेको कार्यालयको तथ्यांक छ । सूचना अधिकारी बस्यालका अनुसार सोही अवधिमा उद्योग तर्फ २६ लाख ७९ हजार २९० रुपैया र वाणिज्य तर्फ ४१ लाख ११ हजार ५० राजश्व संकलन भएको छ । कार्यालय मार्फत प्रदान गरिने उद्योग दर्ता, व्यापार-व्यवसाय दर्ता , नवीकरण, नामसारी, ठाउँसारी लगायत प्रशासनिक सेवाबाट राजस्व संकलन भएको हो ।
यस्तै कार्यालयले जिल्लाका विभिन्न स्थानिय तहमा विभिन्न सिप विकास तथा तालिमहरु सञ्चालन गर्ने गरेको छ । कतिपय प्रशिक्षार्थिहरु उद्यमी बन्छु सिक्छु भन्दा पनि भत्ता, समय कटाउन भन्दै तालिममा सहभागी हुने गरेकाले अपेक्षित रुपमा परीणाम प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ ।
कार्यालयले कम पूजी र लगानीमा पनि उद्यमी वन्न सकिने खालका विभिन्न सिप विकास तथा प्रविधि सहयोग, महिला उद्यमशिलता, लघु तथा घरेलु उद्योगका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology