काठमाडौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलामा नेपाल आज पपुवा न्यूगिनी (पिएनजी)संग भिड्दै छ । अहिले बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने खेलमा नेपाल पिएनजीविरुद्ध जित निकाली शीर्ष तीनमा स्थान बनाउँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवितै राख्ने अठोटका साथ मैदानमा उत्रिदै छ ।
जारी श्रृंखलाको पहिलो खेलमा नेपालले पिएनजीलाई ५५ तथा दोस्रो खेलमा आइतबार यूएईलाई १७७ रनले हराइसकेको छ । अब दुई खेल जिते नेपाल विश्वकप छनोटमा पुग्नेछ । नेपाल अहिले ३४ खेलबाट ३६ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
आइतबारको जितसँगै नेपालले लिग २ मा दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ । नेपालले सन् २०१८ को मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो।
अब नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन यो श्रृंखलामा बाँकी रहेका २ खेल जित्नुपर्नेछ तर, बाँकी दुवै खेलमा जित हासिल गर्न नसके नेपालले फेरि छनोटको प्ले–अफ खेल्नुपर्नेछ। लिग २ बाट शीर्ष तीनले सोझै ग्लोबल छनोटमा स्थान बनाउनेछन्। बाँकी चार टिमले प्ले–अफ खेल्नुपर्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology