राजेश पराजुली, गण्डकी प्रदेश तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेको कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा दिउँसो आगलागी भएको हो । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मको ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएको छ ।
वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएको थियो । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएको तर केही कुखुरा मरेका उनले जानकारी दिए।
करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएको कुलप्रसाद तिवारीले बताए । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएको थियो ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology