राजेश पराजुली, नवलपुर । नेपाली समाजमा विवाहमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि नयाँ पुस्तालाई जानकारी दिन यही फागुन ३ देखि सुरु हुने सातौँ नवलपुर महोत्सवमा रत्यौली गीत गायन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका संस्थापक सदस्य हरिप्रसाद न्यौपानेले बताए ।
रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयोजना हुँदा रत्यौली गीतको संरक्षणमा टेवा पुग्ने न्यौपाने बताए । “हिजोका दिनमा केही अश्लीलता थियो, अहिले समाज परिवर्तन भएको छ अश्लीलता हट्दै गएको छ, मेला महोत्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसको संरक्षणमा टेवा पुग्छ”, न्यौपानेले बताए ।
रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले बताउनुहुन्छ । उहाँका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ । यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको वेशमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन् । पुरुषको वेशमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष बिजीका अनुसार रत्यौली गीत आफैँ रोचक हुन्छ भने नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाई निकै रमाइलो बनाएका हुन्छन् । विगतका दिनमा महिलाले मात्रै प्रस्तुति दिने भएकाले पुरुषले हेर्न नहुने र अश्लील हुने भएको भनिए पनि पछिल्लो समय समाजमा आएको परिवर्तनसँगै रत्यौली गीत सबैले हेर्न र सुन्न सकिने आएको अध्यक्ष बिजी बताए । उनका अनुसार यस्ता प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक संस्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्नेछ ।
रत्यौलीमा अश्लीलता हुने भन्दै आरोप लाग्ने गरेको र रत्यौली नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न महोत्सवमा प्रतियोगिताको आयोजना गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले बताए । प्रतियोगितामा भाग लिन इच्छुक महिला समूहले माघ २९ गतेसम्म महोत्सवको सचिवालयमा समूह र आफूले गाउने रत्यौली गीत दर्ता गर्नुपर्ने अध्यक्ष अर्याल बताए । दर्तापछि निर्णायकले गीतमा अश्लीलता भएको पाएमा त्यस्ता गीत दर्ता गर्ने समूहलाई प्रतिस्पर्धा गर्न नदिने गरी प्रतियोगिताको आयोजना गरिएकाले प्रतियोगिता सभ्य हुने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology