अयोध्या । अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट ल्याइएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।
बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौं मानिसहरूको सहभागिता थियो ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला ल्याइएको हो । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्याउने क्रममा बाटामा हजारौं भक्तजनले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।
लामो समयको विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण भइरहेको छ । राम जन्मभूमिस्थल विवादित थियो । मुसलमान समूदायको बाबरी मस्जिद र हिन्दुको मन्दिरलाई लिएर वषौं विवाद कायम थियो । एउटै जमिनलाई हिन्दुहरुले रामजन्म भूमि र मुसलमान आफ्नो पवित्र मस्जिदको स्थान दाबी गर्दै आएका थिए । भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिरको निर्माण हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology