राजेश पराजुली, पोखरा । औद्योगिक व्यापार मेला २०७९ मा बिक्रीको लागि राखिएका विभिन्न घरायसी सामानमा भारी छुटको व्यवस्था गरिएको छ्। संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार दैनिक जीवनमा प्रयोग हुने भान्छाका सामग्रीदेखि अन्य उपभोग्य बस्तु, गाडी तथा मोटरसाइकलमा त्यो छुट दिइएको हो ।
यो मेलामा प्रदर्शनका लागि राखिएका सामग्रीहरु एकातिर छन् भने दैनिक जीवनमा प्रयोग हुने सामान सस्तोमा बिक्री–वितरण भइरहेको छ’,उनले भने,‘गृहिणीहरुले यो मेलाबाट भरपुर फाइदा लिन सक्नुहुन्छ ।’मेलाको सह–प्रायोजक रहेको शिवशिखर सहकारीको स्टल देखाउँदै उनले भने,‘यस्तो छुट अरु बेला पाइँदैन ।’
संघका महासचिव बलराम आचार्यका अनुसार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उद्योगी÷व्यवसायीहरुले बस्तु तथा सेवाहरु प्रदर्शन र बिक्रीमा राखेका छन् । कृषि उत्पादनहरु, स्वस्थ जीवनलाईं आवश्यक पर्ने खाद्यान्नहरु मेलाको विशेष आकर्षण रहेको पनि उनले बताए । अगुवा महिला उद्यमी इन्दिरा बराल र लक्की क्षेत्री कार्कीले एउटै स्वरमा भने,‘आलोचना गर्ने भएनन् भने प्रगति गर्न सकिँदैन ।’
उद्यमशीलता सुरु गर्दा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भनेर कुरा काटेको स्मरण गर्दै उनीहरुले थपे,‘फलोनो यस्तो भएर हिँडी, यस्तो गर्छे भन्ने कुरा काट्नेहरुलाई जितेर नै सफल भएको जिकिर पनि गरे । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को छेकोमा सोमबार आयोजना गरेको ‘सेल्फ मेड महिला’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।
इन्दिरा पोखरामा रहेर पदयात्रा पर्यटन सुरु गर्ने अगुवा महिला व्यवसायी हुन् भने लक्की क्षेत्री कार्की महिलाहरुलाई नै पदयात्रा पथप्रदर्शक व्यवसायमा लगाउने अगुवा महिला उद्यमी हुन् । इन्दिराले पतिसँग ४० हजार पूँजी लिएर व्यवसाय थालेकी थिइन् भने लक्कीहरुले २ लाख रुपैयाँबाट व्यवसाय थालेको बताइन् । तर, काम थाल्दा सजिलो भने भएन । उनीहरुको खुट्टा तान्न खोजियो । कतिसम्म भने लाएको र खाएको देखेर रिस गर्ने पनि भए ।
चरित्रमाथि गाइँगुइँ गर्नेहरु पनि थिए नै ! तर,उनीहरुले खुट्टा कमाएनन् ।
‘मैले धेरै कुरा सहेँ,केही गरेर देखाउँछु भन्ने अठोट लिएँ र सफल भएँ’,इन्दिराले भनिन् । लक्कीको भनाइ पनि उस्तै थियो । उनले पनि भनिन्,‘
‘कुरा त कति काटे कति काटे तर हामीलाई काट्न सकेनन् । मैले त्यो बेला कति कुरा बुझुन सकिन होला तर कसैले केही गर्छ भने उसकै कुरा काटिन्छ । तपाईं कुनै फिल्म हेर्नुहुन्छ भने त्यहाँ भिलेन पनि हुन्छ ,भिलेन भएन भने हिरो हुँदैन । त्यो बेलाको कुरा अहिले मलाई त्यस्तै लाग्छ ।’हामी तीनजना दिदी बहिनी मिलेर लेकसाइडमा गेष्ट हाउस चलाउँथ्यौँ,महिला पर्यटक आउन थालेपछि महिला पथप्रदर्शकको माग हुन थाल्यो’,हामीले त्यसमा आफैं सुदूरपश्चिम गएँ,अन्नपूर्ण बेसक्याम्प गएँ र यो व्यवसाय सुरु गरेँ ।’
नेपालमा सेवा क्षेत्रले ठूलो श्रमको माग रहेको र त्यहाँ महिलाले आफूलाई प्रमाणित गर्नसक्नेमा उनीहरुले विशेष जोड दिए । महिलाहरुलाई अगाडि बढ्न दिइँदैन भन्ने कुरालाई गलत प्रमाणित गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए । ‘महिलाले गर्न नसक्ने भन्ने कुरा केही हुँदैन,हामी कमजोर छैनौँ’,मिहिनेत चाहिँ गर्नुपर्छ’,इन्दिराले भनिन् । इन्दिराले व्यवसाय गर्ने क्रममा पाएको सफलता र व्यवस्ताबारे चर्चा गर्दै भनिन्,‘कतिसम्म भने पैसा बोरामा राख्नुपथ्र्यो र काठमाडौंमा गएर गन्नुपथ्र्यो ।’ उता, लक्कीले आफ्नो सफलता र त्यसले पाएको चर्चाले सन्तुष्टि दिलाएको बताइन् । उनले भनिन्,‘ म कहाँ पुग्छु भन्ने थाहा छैन तर महिलाहरुले भयबाट मुक्त भएर अगाडि बढ्न्ुपर्छ,म त्यही गर्दैछु ।’राष्ट्रले संभावित उद्यमहरुमा महिला सहभागिता बढाउन प्रोत्साहन गर्नुपर्ने पनि उनीहरुको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका सूचना अधिकृत वाशुदेव मिश्रको सहजीकरण रहेको कार्यक्रमको बिट मार्दै दुवैले भने,‘काम गर्दा लगन चाहिन्छ र सेवा उद्योगमा महिलाहरुको सहभागिता बढ्न्ु खुसीको कुरा हो, सम्भावना भएका क्षेत्रहरुमा अलिकता फरक काम गर्दा पनि सफल भइन्छ,सफलता सम्भव छ ।’
व्यापार मेलाअन्तर्गत मंगलबार पोखरामा स्वास्थ्य पर्यटनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा निजी अस्पतालहरुको संस्था अफिनका गण्डकी अध्यक्ष अशोक पालिखे, नेपाल लेखक संघका अध्यक्ष तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ र युआरल पोखराका अध्यक्ष ठाकुरप्रसाद पन्त सो कार्यक्रमका वक्ताको रुपमा रहनेछन् भने संचारकर्मी दीपेन्द्र श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्ने संघका महासचिव बलराम आचार्यले बताए ।
संघकी उपमहासचिव शोभा गौतमका अनुसार मेलाअन्तर्गत समावेश गरिएको सांस्कृतिक कार्यक्रमले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिलाएको छ । मंगलबार प्रकाश सपूतलगायतका प्रस्तुतिपछि बुधबार चर्चित खेम सेन्चुरीको प्रस्तुति रहने उनले जानकारी दिइन् ।
यता, इ–सेवाको क्यूआर कोडमार्फत् मेलाको टिकट काट्नेहरुको लागि लक्की ड्रमार्फत् व्यवस्था गरिएको पुरस्कारअन्तर्गत मंसिर १८ विजेता बनेका काशीराम न्यौपानेले एडभान्स प्याराग्लाइडिङको तर्फबाट प्याराग्लाइडिङको टिकट पाए भने १९ गतेकी विजेता दिव्यानी थापाले फिस्टेल ड्रिमपार्कको टिकट पाइन् । १९ गते नै यति मार्ट प्रालि तथा शिखा प्याकेजिङ प्रालिको नामबाट काटिएका २ टिकटले पनि फिस्टेल ड्रिम पार्कको फ्रि टिकट पाएका छन् । यता, मेलाको प्रवेश टिकट लिनेमध्ये दैनिक २० जनालाई अन्नपूर्ण केबलकारको टिकट एवं २ जनालाई बाल्ट्रको कुकर प्राप्त भएको टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाले जानकारी दिए । मंसिर १६ गतेबाट सुरु भएको मेला मंसिर २५ गतेसम्म चल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology