राजेश पराजुली, पोखरा । जनस्तरबाट स्वर सम्राटको उपनाम पाएका नारायण गोपालको ३२ औं स्मृति दिवस मनाईएकोछ । सोमबार विविध कार्यक्रम गरी देशै भरि उनको स्मृति दिवस मनाईयो । सोहिक्रममा पोखरामा नारायण गोपाल स्मृति साँझको आयोजना गरी पोखरेलीले किङ अफ ट्रेजेडी समेत भनेर चिनिने नारायण गोपालको सम्झना गरेका छन ।
विसं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनले स्वर सम्राटको उपाधि पाएका थिए ।
विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए । उनका सदाबहार र कालजयी गीत आजका पुस्ताले समेत मन पराउने गरेका छन् ।
उनले आफ्नो गायन यात्रामा १ सय ३६ भन्दा धेरै गीत गाएका छन् । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा समेत आवाज भरेका छन् । जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडी पनि भन्ने गरिएको छ ।
उनै स्वर सम्राटको सम्झनामा पोखरामा स्मृति साँझ आयोजना गरियो । विभिन्न संघ संस्थाको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा रामभक्त जोजिजू, विनोद बानिया,इतु जोजिजू, एमडी काफ्ले, रजनी ऋदम राई, सन्तोष बस्याल र उषा गुरुङले नारायण गोपालले गाएका कालजयी गीत प्रस्तुत गरेका थिए ।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा भएको उक्त कार्यक्रममा पब्लिक फोके टेलिभिजनले सहकार्य गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology