काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् । चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।
दाहालको सचिवालयले टेलिफोन संवाद भएको पुष्टि गरे । 'अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो' दाहालका स्वकीय सचिव रमेश मल्लले भने । प्रचण्डको सचिवालयका अनुसार फोनमा ओलीले चुनावमा सोँचेजस्तो नतिजा नआएकोले मिलेर अगाडि जानुपर्ने प्रस्ताव गरेका थिए । कम्युनिस्ट पार्टीलाई कमजोर पार्न शक्तिकेन्द्र लागिपरेको उल्लेख गर्दै ओलीले नयाँ ढंगले सोंच्नुपर्ने बताएका थिए ।
नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो । २०७७ माघमा नेकपा विभाजन भएपछि अमेरिकाको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा संसद्मा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो ।
ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology