रौतहट । रौतहट मौलापुर नगरपालिका वडा नं. ८ बाट जाली नोट कारोबारमा संलग्न छ जना पक्राउ परेका छन् । शुक्रबार साँझ ६ बजे सोनरनिया स्थित विशेष सूचनाको आधारमा जाली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला र ईलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र नोटसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारा आदर्श कोतवाल गाउँपालिका ६ का २५ वर्षीय आनन्द कुश्वाहा, ४५ वर्षीया प्रतिमा देवी कुश्वाहा, २२ वर्षीया अमृता कुमारी, २९ वर्षीया बृज किशोर मुखिया, रौतहट मौलापुर ७ का २३ वर्षीय राजाराम साह, देवाही गोनाही ६ का २० वर्षीय धिरज प्रसाद जैसवाल रहेका छन् ।
मौलापुर ७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साह सुत्ने कोठामा एकथान कटुवा पेस्तोल फेला परेकोले बरामद गरी खोटा चलन तथा हात हतियार शिर्षक अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ८७ थान नक्कली नोट बरामद गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । जसमा दुईजना म्यादी प्रहरीसहित ६ जना प्रहरी घाइते भएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology