राजेश पराजुली, पोखरा । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।
सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ ।
बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ ।
सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताए ।
फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित भएका छन् ।सरसफाई अभियानबाट २ सय ट्रक जलकुम्भी तथा अन्य फोहोर संकलन गरिएको छ ।
सङ्कलित फोहोरमध्ये करिब १ सय ट्रक फोहोर महानगरका ३५ वटा गाडीले डम्पिङ साइडमा लगी व्यवस्थापन गरिसकेको र बाँकी फोहोरलाई ताल छेउबाट उठाएर लग्ने काम भइरहेको मेयर आचार्यले बताए ।
फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।
बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।
कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।
सरसफाई महाअभियानसँगै अब पोखरा महानगरपालिकाले कार्य योजना बनाएर फेवातालको नियमित रूपमा सरसफाई कार्यलाई निरन्तरता दिने मेयर आचार्यको भनाई छ । ‘हामीले निर्वाचित भएर आइसकेपछि आज पहिलो पटक यसरी फेवाताल सरसफाइको महाअभियान सुरु गर्यौँ । आजको कार्यक्रममा उत्साहजनक सहभागिता रह्यो । अब हामीले फेवाताललाई जोगाउन र यसको सुन्दरता कायम राखिरहनका लागि एउटा योजना बनाएर निरन्तर सरसफाई लगायतका कार्यक्रम जारी राख्छौँ ।’
“फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भने ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन ।
पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology