Logo

२०८३, आश्विन ११गते


images
images

सोह्र श्राद्ध: मुक्तिनाथमा पितृ उद्धारका लागि पुग्नेहरुको चहलपहल बढ्यो

सोह्र श्राद्ध: मुक्तिनाथमा पितृ उद्धारका लागि पुग्नेहरुको चहलपहल बढ्यो

images
  • सोह्र श्राद्ध: मुक्तिनाथमा पितृ उद्धारका लागि पुग्नेहरुको चहलपहल बढ्यो
    images
    images

    राजेश पराजुली, मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् । 

    images
    images
    images


    मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उनले बताए । “यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ”, उनले भने, “पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढाटाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।”

    images
    images
    images

    मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा होटेल ग्रान्ड साम्बाला सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सुरज गुरुङले बताए ।

    images
    images
    images

    मुक्तिनाथ क्षेत्रमा अक्टोबरदेखि नै विदेशी पर्यटकको चहलपहल हुने गरेको बताउँदै उहाँले सोह्र श्राद्धको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको जानकारी दिए । 

    पछिल्ला वर्षमा चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । कोरोना कहरअघिका वर्षमा देखिएको पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको गुरुङले जानकारी दिए ।

    चार दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा बन्दै गएका सुविधासम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।

    यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएछ । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएको छ । सोही अनुरोधकै आधारमा सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरे । 

    स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो । रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । 

    तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।

    धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्नेक्रम सुरु भएको रानीपौवामा अहिले भने झण्डै २५ वटा सुविधा सम्पन्न होटेल रहेको र अन्य बन्ने क्रममा रहेको पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ । करिब २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेकामा अहिले बजारका रुपमा परिणत भइसकेको छ । रानीपौवामा धर्मशाला नबन्दासम्म मुक्तिनाथ आएका दर्शनार्थी त्यहाँबाट केही तल पुराङ गाउँमा बस्नुपर्दथ्यो । 

    चार वर्ष वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको यस स्थानको पर्यटन कोरोना कहरका कारण त्यस यताका दुई वर्षयता प्रभावित भयो । पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै देख्न र अनुभव दिन सकिने हिमाल एवं मनोरम भूवनोटले जो कोहीलाई लोभ्याउँछ । 

    पर्यटकको रोजाइअनुसारका राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकार यही पाइन्छ । 
    सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । 

    पोखराबाट हवाइ उडान र सडक यातायात दुवैबाट मुक्तिनाथ पुग्न सकिन्छ । पर्यटकको सुविधालाई लक्षितगरी विभिन्न सुविधासम्पन्न यातायातका साधन सञ्चालन भइरहेको यात्री बस प्रालि पोखराका सञ्चालक बोबरजङ्ग गुरुङले बताए ।

    “पर्यटकका लागि मुक्तिनाथ जान सुविधासम्पन्न बसका साथै जीपको व्यवस्था गरिएको छ”, उनले भने, “सोह्र श्राद्धका साथै अन्य समयमा पनि पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको छ ।” हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । 

    तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।