राजेश पराजुली,पोखरा । पोखराका मेयर धनराज आचार्यले पार्टीको जिल्ला नेतृत्व छाडेका छन् । नेकपा एकीकृत समाजवादी कास्कीको अध्यक्ष रहेका आचार्यले पोखरामा आयोजना गरिएको कार्यक्रममा नेतृत्व हस्तान्तरण गरेका हुन ।
यसअघि आचार्य मेयर पदको उम्मेदवार बन्दादेखि नै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पार्टी कमिटीका उपाध्यक्ष खड्ग हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।
बि.स. २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हमाल इमानदार र स्वच्छ छवि भएका कम्युनिष्ट नेताका रूपमा परिचित छन । उनले नेकपा एमालेमा रहँदा पार्टीको क्षेत्रीय कमिटीको उपाध्यक्ष र जिल्ला कमिटी सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरेका थियो । दुई उपाध्यक्ष रहने व्यवस्था रहेको कमिटीको अर्को उपाध्यक्षमा यस अघि पनि सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका झपिन्द्र राज रेग्मी ले नै निरन्तरता पाए ।
भेलाले यस अघि जिल्ला कमिटीमा उपसचिव रहेका पूर्ण लामालाई उपाध्यक्षमा चयन गरेको छ । उनि पार्टी निकट युवा संघको केन्द्रीय उपाध्यक्ष समेत हुन । त्यसै गरी जिल्ला कमिटीको सचिवमा होम नेपालीले र उपसचिवमा डी.बी. राईले निरन्तरता पाएका छन ।
कमिटीमा दुई उपसचिव रहने व्यवस्था रहेकोमा एकमा मेनका आचार्यले निरन्तरता पाएकि छन भने खालि रहेको एक पदको टुङ्गो अव बस्ने पूर्ण बैठकले लगाउने समझदारी भएको पार्टी कमिटीले जनाएको छ । १६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीको सचिवालय ५५ सदस्यीय रहेको छ । पार्टीले जिल्लामा ५१ सय बढी सङ्गठित सदस्य रहेको जनाएको छ ।
नवगठित कमिटीका पदाधिकारीहरूलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र कार्यक्रममा सभापति धनराज आचार्य लगायतले फूल माला र अबिर लगाएर बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा मेयर आचार्यले आफू जनप्रतिनिधिको रूपमा निर्वाचित भइसकेको अवस्थामा बिहान देखि बेलुकासम्म जनताको भेटघाट र समस्या समाधानमा व्यस्त रहनुपर्ने हुँदा समयमै नेतृत्व हस्तान्तरण गरेको बताए । एक व्यक्ति एक पदको सिद्धान्त र व्यवस्थालाई आत्मसाथ गर्दै आफू नेतृत्व हस्तान्तरणमा अग्रसर बनेको उनको भनाइ थियो ।
सम्मानित नेता खनालले प्रशिक्षण समेत दिएका कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरी २०० बढी नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology