राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं.६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरेका हुन् ।
सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताए । “अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उनले भने, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्डभित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।” अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उनको भनाइ छ ।
“नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।” प्रमुख आचार्यको भनाई छ । उनका अनुसार महानगरभित्र यस प्रकृतिको कुल संख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताइन् । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पारिन् ।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गरे । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताए ।
सो क्रममा वडा नं.६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology