बुटवल । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को अबस्थामा फर्कने बताएका छन् ।
अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक जिसीले माओवादी केन्द्रसँग अन्य धेरै दलहरूको एकताको तयारी भैरहेकोले चुनावमा २०६४ सालको जस्तै उत्साहजनक अबस्था आउने बताएका हुन् ।
'एकातिर धेरै पार्टीबीच एकताको तयारी, अर्को गठबन्धन त्यसमाथी एमालेबाट हाम्रो पार्टीमा प्रवेशको लहर छ', उनले भने, 'यो लहरले हाम्रो पार्टीको २०६४ को निर्वाचन जस्तै उत्साहजनक अवस्था आउँछ ।'
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी नेताहरूले जिसीलाई लोकप्रिय व्यक्ति भएकोले चुनावमा उम्मेदवार बन्न सुझाव दिएका थिए ।
संयोजक जिसीले विद्यार्थी नेताहरूको सुझाव सकारात्मक भएपनि पार्टीले जसलाई उम्मेद्वार बनाउँछ, उही उम्मेद्वारलाई जिताउनेगरी लाग्न आह्वान गरेका थिए ।
गुल्मीमा मात्र नभई माओवादी केन्द्र देशमै ठूलो पार्टी बन्ने समेत उहाँको दावी छ । 'पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरूले प्रदेश समन्वय परिषदको बैठकमा दिएको प्रशिक्षण अनुसार माओवादी केन्द्र देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बन्ने भन्ने निश्चित छ', उनले भने, 'हामी हाम्रो जिल्लामा सोही अनुसारको तयारी गरिरहेका छौँ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology