दाङ । लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले एक वर्ष पूरा गरेको छ । मुख्यमन्त्री निर्देशक समितिको अध्यक्ष रहनेगरी सञ्चालनमा ल्याइएको कार्यक्रमले सोमबार प्रदेश राजधानी राप्ती उपत्यकामा आर्थिक बर्ष २०७८/०७९ को बार्षिक समिक्षा गरेको कार्यक्रमका निर्देशक ग्रीस पुनले जानकारी दिए ।
पुनका अनुसार लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा लागु भएको कार्यक्रमबाट २ हजार ७ सय ७९ विद्यालय लाभान्वित भएका छन ।
कार्यक्रमबाट मुख्य गरेर विद्यालय पुन: निर्माण, रंगरोगन, बगैचा निर्माण, खानेपानी निर्माण, घेराबार, प्रविधिमैत्री शिक्षा निर्माण जस्ता कार्यहरु गरीएको समिक्षा कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कुल प्रसाद केसीका प्रमुख राजनैतिक सल्लाहाकार अमर बहादुर डाँगीले परम्परागत शिक्षा प्रणालीलाई आधुनिक पद्धतीमा रुपान्तरण गर्न सके समाज परिवर्तन गर्न सकिने बताए । उनले आधुनिक शिक्षाका नाममा पश्चिमा संस्कार सिकाउने कुरा व्यवहारीक नभएको भन्दै नेपाली समाजमा आधारीत शिक्षा प्रणाली लागु गर्नु पर्नेमा जोड दिए ।
नेपालमा रहेको हिमाली संस्कृती आर्य सभ्यता भन्दा पनि पुरानो भएको जानकारी दिदै डाँगीले नेपाली शिक्षा र परम्पराको पुस्ता हस्तान्तरण हुन नसकेको दुखेसो गरे ।
उनले श्रमलाई प्रविधिमा र प्रविधिलाई उत्पादनमा जोड्न सके मात्रै आर्थिक विकास संम्भव भएको बताए । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले अन्य निकायको ध्यान नपुगेको स्थानमा शैक्षिक सुधारको काम गर्नु पर्नेमा उनको जोड थियो ।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले कार्यक्रम कार्यान्वयमा देखिएको कठिनाइका बिषयमा आफु जानकार रहेको बताउँदै सहजिकरणका लागि तयार रहेको बताए । उनले मन्त्रालयका कारण मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रभावित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका उप–सचिव यमकान्त पाण्डेय, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैह्रे, राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्ट लगायतले बोल्दै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका कारण कतिपय विद्यालयको मुहार फेरीएकोमा खुसी व्यक्त गरे । उनीहरुले कार्यक्रम निरन्तरताका लागि पहल गर्न सरोकारवाला निकायलाई आग्रह समेत गरे ।
कार्यक्रमको मुख्य कार्यालय दाङको देउखुरीमा रहको छ । प्रदेशको १२ वटै जिल्लामा समन्वयकर्ता रहेको कार्यक्रमले स्थानिय सरकारसंगको समन्वयमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology