कृष्ण अन्जान, गुल्मी । बर्दियावाट संस्कृत गुरुकुल रुरुधाममा अध्ययन गर्न आएका वसन्त शर्मा चार बजे उठेर नुहाई धुवाई लगायतका नित्यकर्ममा व्यस्त देखिन्छन् ।
सवेरै चार बजेबाट रिडी सँस्कृत तथा साधारण माध्यमिक विद्यालयले सँरक्षण गरेकाे सँस्कृत गुरुकुलमा बटुकहरुकाे चहलपहल शुरु भैसकेकाे हुन्छ ।
पन्चस्नान लगायतका नित्य कर्म सकेपछि गुरुकुलका बटुकहरु बिहान छ बजेदेखि रुद्रि चण्डि र वेदका ऋचाहरु फलाक्न थाल्छन । याे श्रृँखला आठबजेसम्म चल्छ । अनि खानपान पछि दिउसाे सँस्कृत शिक्षा र साँझफेरी कर्मकाण्ड लगायतका विषयकाे अध्ययन अध्यापन शुरुहुन्छ ।
यहि सँस्कृत माध्यमिक विद्यालय हाे, जहाँ गुरुकुल परम्परालाई आत्मसात गर्दै चण्डी रुद्री वेद कौमुदी अमरकाेषकाे अध्यापन गराउँदै बिक्रमसम्बत १९७९सालमा आफुलाई स्थापित गरेकाे ।
पुन: करिब एकसय नौ वर्ष पछि पुन वैदिक सँस्कृतिकाे प्रचार प्रसारका लागि गुरुकुल पद्धतिमा अध्ययन अध्यापन शुरु गरिएकाे छ ।
विक्रम सम्वत २०७७ सालकाे महाशिवरात्रीकाे दिन पारेर शुरु गरिएकाे सँस्कृत गुरुकुल रुरुधाममा नियमित सत्तरी जना बटुकले अध्ययन गर्छन भने ३० जना आवासीय रुपमा गुरुकुलकाे आवास गृहमा बस्छन ।
तर दु:खकाे कुरा दुईवटा काेठामा पुराना पाठशालाका बेन्च जाेडेर दु:खजिलाे रात कटाउँदै आएका छन बटुकहरुले ।
रुरुक्षेत्र गाउँपालिकाले बनाईदिएकाे आवास भवन त छ तर त्यहाँ न बिजुली बत्ति छ न झ्याल ढाेका सबैमा छन । खाटकाे व्यवस्था छैन । एउटा पिडादायी व्यवस्थापनका माझमा सँस्कृत शिक्षा लिईरहेका छन विद्यार्थीहरु ।
अझै विडम्बना त आवासीय गृहमा बस्ने बटुकहरुलाई खाने खर्चकाे समस्या जटिल छ ।
केही दाताहरूको कृपाले अहिलेसम्म चलाउँदै आएका छौँ तर दिगाे रुपमा समस्या समाधान खाेज्दै पर्ने भएकाे छ विद्यालयका प्रधानाध्यापक माधव प्रसाद ज्ञवालीले भने ।
त्यसाे त महर्षी वैदिक फाउण्डेशन फर वैदिक कल्चरले मासिक केही रकम उपलब्ध गराउँछ तर त्यसले दस वाह्र दिनलाई मात्र पुग्छ, प्रधानध्यापक ज्ञवालीकाे भनाई छ ।
"अर्काे समस्या यतिबेला गुरुकुलका बटुकहरु आफैले पकाउने भाँडा माझ्ने काममा पनि लाग्नु पर्ने हुँदा पढाइमा वाधा छ तर गुरुकुलले आर्थिक अभावकै कारण भान्से समेत राख्न सकेकाे छैन" प्रधानाध्यापक ज्ञवालीले दुख पाेखे ।
दाङ, बर्दिया, बाँके, बाग्लुँग लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट याे गुरुकुलमा आएर संस्कृत कर्मकाण्ड, वेद, रुद्रि, चण्डि अध्ययन गर्ने बटुकहरु यहाँ रहेका छन ।
कर्मकाण्डकाे व्यवहारिक याेग्यता बढाउनेसंगै ज्ञान विज्ञानकाे समन्वयात्मक शिक्षा दिँदै बहुआयामिक र विद्दान जनशक्ति उत्पादन गर्ने लक्ष यस गुरुकुलले लिएपनि दिगाे व्यवस्थापनले समस्या परेकाे गुरुकुलमा अध्यापन गर्दै आएका शिक्षक धनन्जय भण्डारीले बताए ।
"टाढाटाढाबाट गुरुकुलमा विद्यार्थी पठाउन अभिभावकहरुले सम्पर्क गरिरहनु भएकाे छ र लाग्छ सँस्कृत शिक्षा प्रति आकर्षण त बढेकाे छ तर गुरुकुलकाे अवस्थाले थप विध्यार्थी ल्याउन सकिएकाे छैन" गुरुकुलमै अध्यापन गर्ने मधु ज्ञवालीले भने ।
संस्कृत गुरुकुल रुरुधाममा अध्ययन गर्ने बटुकहरुमा कमजाेर आर्थिक अवस्था भएका, अभिभावक गुमाएका साना वालकहरुपनि छन । यसले के देखाउँछ भने याे गुरुकुल मानवता सिकाउने पाठशाला पनि हाे ।
समस्याकाे चाङ भित्रपनि सँस्कृत गुरुकुलले हिम्मत हारेकाे छैन र विभिन्न व्यक्ति र सँघ सँस्थाहरु सँग हार गुहार गरिरहेकाे छ ।
ज्ञान लिन कठिन छ भन्ने पुर्खाकाे भनाई यतिबेला सँस्कृत गुरुकुल रुरुधामले व्यहाेर्दै त छ तर समस्याका माझपनि मिठाे प्रतिफलकाे आशा भने अझै मरिसकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology