काठमाडौं । दक्षिण कोरियासँगको सम्बन्धबारे रूसको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले रुसलाई गर्दै आएको सैन्य सहयोग अस्थायी रूपमा रोकेको दाबी गरिएको छ ।
युक्रेनको सैन्य गुप्तचर निकायका अनुसार उत्तर कोरियाले रुसलाई उपलब्ध गराउँदै आएको केएन–२३ क्षेप्यास्त्र, तोपका गोला तथा अन्य सैन्य सामग्रीको आपूर्ति रोकेको छ । रुसी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिने व्यवस्था पनि रोकिएको दाबी गरिएको छ ।
रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले दक्षिण कोरिया र उत्तर कोरियाबीचको तनाव कम गर्न मस्कोले सहयोग गर्ने बताएका थिए । यही अभिव्यक्तिप्रति उत्तर कोरियाकी विदेशमन्त्री चो सोन हुईले आपत्ति जनाउँदै रुससँग आफ्नो नीति स्पष्ट पार्न माग गरेकी थिइन् ।
उत्तर कोरियाले सन् २०२३ देखि रुसलाई हतियार उपलब्ध गराउँदै आएको र सन् २०२४ देखि सैनिकसमेत पठाएको बताइएको छ । युक्रेन युद्धमा सहयोग गर्न उत्तर कोरियाले करिब १४ हजार सैनिक रुस पठाएको दाबी गरिएको छ । तीमध्ये कम्तीमा ६ हजार सैनिक मारिएको युक्रेन, पश्चिमी मुलुक तथा उत्तर कोरियाली अधिकारीहरूको विवरणमा उल्लेख छ ।
युक्रेनी गुप्तचर निकायका अनुसार रुसले उत्तर कोरियासँग सैनिक संख्या ८ हजार ५०० बाट बढाएर ५० हजार पुर्याउन आग्रह गरेको थियो । तर उत्तर कोरियाले तत्काल यसमा सहमति नजनाएको दाबी गरिएको छ ।
यद्यपि, सैन्य सहयोग रोकिएको भनिए पनि दुवै देशबीच कूटनीतिक सम्पर्क जारी रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ । सन् २०२४ मा भएको व्यापक रणनीतिक साझेदारी सम्झौतामार्फत रुस र उत्तर कोरियाले एकअर्कालाई रक्षा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology