काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनको आज सवा ११ बजे भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।
प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्ने गरी बलियो आर्थिक एजेन्डा अघि सारेका छन् । विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट र स्टार्टअप नेपालको प्राथमिकताका एजेन्डा छन् । नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ । द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् । त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।
यसअघि आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । त्यसपछि साँझ सवा ६ बजे प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री सचिवालयका अनुसार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो ।
प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology