काठमाडौं । मेक्सिकोमा अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्करीका नाइके फाउस्तो इसिद्रो मेजा फ्लोरेस पक्राउ परेपछि हिंसा भड्किएको छ ।
‘एल चापो इसिद्रो’ नामले चिनिने मेजा फ्लोरेसलाई मेक्सिकोको सिनालोआ राज्यमा शुक्रबार राति गरिएको सैन्य कारबाहीका क्रममा पक्राउ गरिएको हो । उनी एफबीआईको सर्वाधिक खोजीमा रहेका १० अपराधीको सूचीमा थिए ।
सीबीएस न्युजका अनुसार मेक्सिकोको सेनाले शनिबार उनको पक्राउबारे जानकारी दिएको हो । एफबीआईका अनुसार मेजा फ्लोरेस लागुऔषध तस्करी गर्ने अन्तरदेशीय आपराधिक गिरोहका कथित प्रमुख हुन् ।
उक्त गिरोहले अमेरिकामा हेरोइन, मेथाम्फेटामिन, कोकिन, फेन्टानिल र गाँजाको तस्करी गर्दै आएको आरोप छ । मेक्सिकोमा समेत लागुऔषध उत्पादन, ढुवानी र वितरणमा गिरोहको नियन्त्रण रहेको एफबीआईले जनाएको छ ।
मेक्सिकोको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार विशेष सैन्य टोलीले उनको अवस्थिति पत्ता लगाएपछि गोप्य रूपमा पुगेर एउटा घर घेराबन्दी गरी पक्राउ गरेको थियो ।
पक्राउपछि सिनालोआ क्षेत्रमा हिंसा भड्किएको र सर्वसाधारणमा त्रास फैलिएको समाचारमा उल्लेख छ । सार्वजनिक भएका दृश्यमा गुआसावे क्षेत्रमा हेलिकप्टरबाट गोली प्रहार भएको देखिएको छ भने एक बेसबल रङ्गशालामा खेल हेरिरहेका मानिस गोली चलेको आवाज सुनेपछि भागाभाग गरेको देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology