काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको सान्जेन पुगेका छन् ।
चीनको टेक राजधानी मानिने सान्जेनमा ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जीनपीङले अँगालो हालेर स्वागत गरेका थिए । ट्रम्पको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो ।
बिहीबार सी, ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने त्रिपक्षीय बैठकलाई विश्वले चासोका साथ हेरेको छ । बैठकमा व्यापार तनाव, कृत्रिम बुद्धिमत्ता, चिप प्रविधि, आणविक निशस्त्रीकरण, युक्रेन युद्ध र इरान युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिका र चीनबीच भन्सार शुल्क तथा दुर्लभ खनिजको आपूर्तिलाई लिएर तनाव जारी छ । व्यापार युद्धमा अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुने भएकाले त्यसलाई निरन्तरता दिने विषय पनि महत्त्वपूर्ण बन्ने देखिएको छ ।
अमेरिका–चीनबीच कृत्रिम बुद्धिमत्ता र चिप प्रविधिमा प्रतिस्पर्धा तीव्र छ । चीनमा चिप तस्करीको आरोपसँग जोडिएको पछिल्लो घटनाले अमेरिकी सुरक्षा चिन्ता थप बढाएको छ । त्यस्तै, आणविक निशस्त्रीकरण, युक्रेन युद्ध र इरान युद्धबारे पनि तीन नेताबीच छलफल हुन सक्ने बताइएको छ ।
युक्रेन युद्धमा निर्णायक सहमति हुने सम्भावना कम रहेको विश्लेषकहरूले बताएका छन् । युक्रेनको सहभागिता नहुनु र तीन देशका फरक रणनीतिक स्वार्थले सहमति कठिन बनाउने देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology