काठमाडौँ । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण आईपीएल २०२७ नखेल्ने निर्णय गरेका छन् ।
उनले सनराइजर्स हैदराबादलाई आगामी संस्करणबाट बाहिर रहने जानकारी गराएका छन् । उनको निर्णयसँगै हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’ अर्थात् ट्राभिस हेड र अभिषेक शर्माको साझेदारी टुट्ने भएको छ ।
अन्तर्राष्ट्रिय खेलको व्यस्त तालिकाबीच आफ्नो खेल भार कम गर्न हेडले आईपीएलबाट विश्राम लिने निर्णय गरेको बताइएको छ । उनलाई आईपीएलबाट बाहिरिन अनुमति मिले हैदराबादको खेलाडी खरिद बजेटमा १४ करोड रुपैयाँ थपिनेछ । आईपीएल २०२७ को खेलाडी लिलामी डिसेम्बर १६ मा गोवामा हुने तय छ ।
अस्ट्रेलियाले सन् २०२७ मा २० टेस्ट खेल खेल्ने तालिका छ । त्यसबाहेक जुनमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल सम्भावित छ भने जुनदेखि अगस्टसम्म इंग्ल्यान्डसँग एसेज शृंखला र अक्टोबर–नोभेम्बरमा एकदिवसीय विश्वकप खेल्नुपर्नेछ ।
हेडलाई सनराइजर्स हैदराबादले सन् २०२४ को खेलाडी लिलामीमा ६ करोड ८० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । उनले सन् २०२४ को सिजनमा १९१.५५ को स्ट्राइक रेट तथा ४० भन्दा बढी औसतमा ५६७ रन बनाएका थिए । उनको उत्कृष्ट प्रदर्शनमा हैदराबाद फाइनलसम्म पुगे पनि कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । हैदराबादका लागि उनले ४३ खेलमा १ हजार ३५१ रन बनाएका छन् ।
हेड र अभिषेक शर्माको जोडी आईपीएलमा सबैभन्दा तीव्र रन बनाउने ओपनिङ जोडीमध्ये एक बनेको थियो । दुवैले ४२ पारिमा ४६.१४ को औसतले १ हजार ८९२ रनको साझेदारी गरेका थिए । उनीहरूको साझेदारीमा ६ शतकीय र ९ अर्धशतकीय योगदान रहेको थियो । प्रति ओभर १२.२७ रन बनाउँदै उनीहरूले कम्तीमा एक हजार साझेदारी रन बनाउने जोडीमध्ये उत्कृष्ट रन गति कायम गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology