डाेटी । डाेटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् ।
केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएकाे पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि याे निर्णय गरिएको हो ।
यसैगरी यस वडामा सञ्चालन हुने गाडीमा जाँड–रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी 'होल्ड' राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।
यसैगरी डाेटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले जाँड–रक्सी बिक्री र ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।
यसैगरी जाँड–रक्सी खानेलाई पहिलो पटक दुई हजार पाँच सय र दोस्रो पटक खानेलाई पाँच हजार रुपैयाँ जरिबाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए।
डाेटीमा नौ वटा पालिका रहे पनि अन्य पालिकामा भने जाँड–रक्सी बिक्री वितरण, ओसारपसार तथा खानेलाई कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । कतिपय पालिकामा लाइसेन्स लिएर जाँड–रक्सी बिक्री, वितरण भइरहेकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology