काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको बहुप्रतीक्षित खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए ।
खेलको १६औँ मिनेटमा डेक्लान राइसको उत्कृष्ट पासमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । लिभरपुलको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै आर्सनलले गोल गरेको थियो ।
खेलमा लिभरपुलले बलमाथि ५५ प्रतिशत नियन्त्रण कायम राखेको थियो । घरेलु टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने एलेक्सिस म्याक एलिस्टरले पाएको राम्रो अवसर खेर फालेका थिए ।
दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन लगातार प्रयास गरे पनि आर्सनलको रक्षापङ्क्ति तोड्न सकेन । आर्सनलका गोलरक्षक डेभिड रायालाई लिभरपुलले १७ पटक प्रहार गरे पनि एकपटक पनि गोलको दिशामा प्रहार गर्न सकेन ।
यस जितसँगै आर्सनलले १४ वर्षपछि प्रिमियर लिगमा एनफिल्डमा पहिलो जित निकालेको छ । यसअघि आर्सनलले सन् २०१२ मा एनफिल्डमा लिभरपुललाई पराजित गरेको थियो ।
जितपछि आर्सनलले नौ खेलबाट २४ अंक जोड्दै लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा आर्सनल तीन अंकले अगाडि रहेको छ । यता लिभरपुल भने १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology