काठमाडौं । न्युजिल्यान्डले चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई ८७ रनले पराजित गरेको छ ।
न्युजिल्यान्डले दिएको २६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । यद्यपि, पाँच खेलको शृङ्खलामा भारत ३–१ ले अगाडि छ ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २५९ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले १०७ रनको उत्कृष्ट शतकीय पारी खेलेका थिए भने माइकल ब्रेसवेलले ६५ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर मयंक यादवले ३ विकेट लिए भने अर्शदीप सिंह प्रिन्स यादव, नितिश कुमार रेड्डी र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
त्यस्तै भारतका लागि तिलक वर्माले सर्वाधिक ३५ रन बनाए । नमन धीरले २८, अभिषेक शर्माले २७, श्रेयस अय्यरले २२ र नितिश रेड्डीले २१ रन जोडे। प्रिन्स यादव १८ रनमा अविजित रहे ।
न्युजिल्यान्डका ज्याकोब डफीले चार विकेट लिए भने म्याथ्यु फिसर र मिचेल सान्टनरले दुई–दुई तथा एडम मिल्नेले एक विकेट लिएका थिए ।
अब सिरिजको पाँचौं तथा अन्तिम खेल आइतबार हुदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology